बाँके । प्रायः संसारमा एउटै व्यक्तिमा पुर्ण रुपमा धरै गुण भएको कमै हुन्छन । एउटै व्यक्तिमा कलाकार, चित्रकार, हस्तकलाकार, मुर्तिकार, अभिनयकार, साहित्यकार, लेखक लगायतका गुण सम्पन्न व्यक्ति पाउन गाह्रो नै छ । यस्तो बहुप्रतिभाशाली भएका मध्यका एक हुन नेपालगन्ज निवासी श्याम नन्द सिंह ठकुरी !
उनी एक चित्रकार, हस्तकलाकार, मुर्तिकार, अभिनयकार, साहित्यकार, र लेखक पनि हुन । समय अनुसार आफू भित्र लुकेका प्रतिभाहरुलाई उनले अगाडि ल्याएका छन । ती बहुप्रतिभाका धनी सिंहको बुवा स्वःविष्णु दत्त सिंह र आमा स्वःलक्ष्मी देवी सिंहको कोखबाट वि.स २०१२ साल आषाढ १२ गते धरतीमा जन्म लिएका थिए ।
नेपाली कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासको क्षेत्रमा सिंहको योगदान उल्लेखेनीय र प्रशंसा योग्य रहेको छ । पत्रकार संग आफ्नो बहुमुल्य समय दिदै आफु प्रदेश ५ सरकारबाट बिभुसित समेत भएको बताए ।
आफू भित्र भएका बहुप्रतिभालाई सबै अलग अलग क्षेत्रको मान्छेलाई अलग अलग रुपमा चिनाउन चाहेको उनले बताएका छन । तीन दशक देखि आवद्ध यस क्षेत्रमा सिंहले सुरुवाती चरणमा चित्रकला गर्ने गरेका थिए । बिस्तारै उनको रुची हस्तकलासँगै अन्य विधाहरुमा पनि अघि बढ्न थाले पनि सबै विधाहरुलाई समान ध्यान दिंदै आएका छन ।
हाल कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै समयलाई सदुपयोग गर्दै हस्तकला निर्माणमा अधिकतम समय खर्ची रहेका छन भने बेला बेलामा चित्रकलालाई पनि समय निकाल्ने गरेको उनले बताएका छन । केहि समय निकालेर कहिले काहिं साहित्य रचना पनि गर्ने गरेको उनले बताए । “यस बीच जीवनको यस चक्रमा समय कसरी मिलिहाल्छ थाहा नै हुँदैन सबै आफै व्यवस्थित भइहाल्छ आफैलाई अचम्म लाग्छ ।”
सफल हुनुका कारण
यी प्रतिभाहरुमा आफ्नो लगनशिलता, निरन्तरता, रुचि र आत्मविश्वासकै कारणले सबै क्षेत्रमा सफल भएको छु । “यति मात्र होइन मैले अफ्नै निवासमा कला संग्रहालय समेत स्थापना गरेको छु । जसमा आफुले बनाएको सबै कलाहरु संरक्षण गरेको छु । मैले करिब ४-५ बर्ष देखि नेपालगन्ज ०९ बाँके गाउँ स्थित आफ्नै निवास मै संग्रहालय स्थापना गरेको छु । जहाँ आउने आगन्तुकहरुले मैले रचेका धेरै कलाहरु हेर्न पाउने छन् । जस्तै बिभिन्न प्रकारका चित्रकला, हस्तकला, मुर्तिकला जसमा हाम्रो मौलिक एवम् लोपुन्मुख र इतिहासलाई चित्रण गरेको छु ।”
संरक्षण गर्न ठाँउ र आर्थिक अभाव
कलाकृति यति धेरै भइसके कि राख्ने ठाउँपनि छैन अब झन आर्थिक अभाव पनि छ । यदि राज्य तथा स्थानीय निकायबाट केही सहयोग मिलेको भए उचित ठाउँमा संग्राहलयको व्यवस्थापन हुन् सक्थ्यो र आम सर्बसाधारणलाई अवलोकनमा पनि सहज हुने थियो । तर विडम्बना कतैबाट सहयोग नपाएको हुनाले मैले घर मै संग्राहलय स्थापना गरी निशुल्क रुपमा सेवा गरिरहेको छु ।
जिवनमा पाएका मुख्य ४ वटा सम्मान
म एउटा कलाकार हुँ । मेरो लागि सबै सम्मान पुरस्कार समान नै लाग्छ । २०७२ सालमा संस्कृति मन्त्रालयद्वारा प्रदान गरिएको छेत्रीय प्रतिभा पुरस्कार, ७२ साल मै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा प्रदान गरिएको लोककलामा बिषेश पुरस्कार, प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार जो मेरा गुरु हुनु हुन्त्यो र हालै प्रदेश ५ सरकारबाट प्रदान गरिएको पदक बिभुषण रहेको छ । यी लगायत जति पनि मैले सम्मान पुरस्कार प्राप्त गरेको छु ति सबैले मलाई थप प्रोत्साहन मिलेको छ ।
हाल सम्मको कलाकृति निर्माण
मैले थुप्रै कलाकृतिहरु निर्माण गरिसको छु । जसमा चित्रकला, हस्तकला, मूर्तिकला गरी करिब ३ देखि ४ हजार कृति रहेका छन् । कलाकृति निर्माणमा पारिवारिक साथ नरहेता पनि समझदारी एवम् हेरचाहमुलक साथ सहयोग रहेको छ जसका कारण मलाई झनै उर्जा थपीदिन्छ ।
म एउटा स्वतन्त्र कलाकार हुृँ । मेरा लागी सबै जातजाती धर्म संस्कृति भेषभुषा समान रहेको हुँदा कलाकृतिहरुमा सबैलाई समेटेको छु । हालसम्म मैले करिब ४०–५० पटक प्रदर्शनी गरि सकेको छु ।
कलाकृति बिक्रि वितरण (आम्दानीको स्रोत)
व्यापारको रुपमा मैले बनाएका कलाकृति बिक्रि वितरण गरेको छैन । तर संग्रहालयको अवलोकन गर्न आएको समयमा कसैले मैले बनाएका कलाकृती मन परायो र खरिदका लागि अनुरोध गर्छ भने दिने गरेको छु । प्राय होटेल ब्यवासाहीहरुले डेकोरेसनका लागि लग्ने गरेका छन ।
साहित्य रचना प्रकाशित देखि गीति अल्बम
मेरो २ वटा सहित्य प्रकाशित भएका छन् । एउटा हिन्दी भाषामा “कबितायं श्यामानन्द कि” रहेको छ भने आर्को नेपाली भाषामा “वर्तमान दर्पण” रहेको छ । मेरो अवधी भाषामा रहेको “अब तो खिड्की होइगा बन्द” गीति अलब्म रहेको छ । साहित्य बिकाशका लागि सरकारी संरक्षणमा प्रशिक्षकहरुको व्यवस्था मिलाई सांगेतिक तथा कला प्रशिक्षण स्थलको रुपमा बिकाश गर्न जरुरी छ । जसबाट प्रतिभावान कलाकारहरुले आफ्नो कला प्रदर्शन गर्न पाउँछन र उनीहरुको मूल्यांकन सहि तरिकाले हुन सक्छ । जसबाट भबिस्यमा आउने पिडिलाई अध्ययन तथा सिक्ने अवसर मिल्छ ।
अनुभव र कला बिनाको जीवन
वास्तवमा भन्नु पर्दा कला बिना मेरो जीवन पानी बिनाको माछा जस्तै लाग्छ । मलाई कला बिना मेरो जीवनको कल्पना पनि गर्न सक्दैन । हृदय भित्र नै कलाले स्थान बनाई सकेको छ ।
कला र उमेर
कला सिक्न वा सिकाउनको लागि कुनै उमेर चाहिदैन । जुन सुकै उमेरकाले इच्छा शक्ति अनुसार सिक्न सक्छन । मेरो उमेर धेरै भए पनि पक्कै यो मलाई माता सरस्वतिको अनुपम देन लाग्छ ।
बाँकेमा कलाकारहरुको अवस्था
बाँके जिल्लामा कलाकारहरुले कलालाई बचाउन संघर्ष गरिरहेका छन् । कला भएर पनि कतिपय गरिब तथा प्रतिभावान कलाकारहरु पैसाको अभावका कारण आफ्नो कला प्रदर्शन गर्न नसकेर ओझेलमा छन् । कलालाई मर्न नदिन सबै एकजुट हुनुपर्ने र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले प्रतिभावान कलाकारलाई आफ्नो प्रतिभा देखाउने वातावरण बनाईदिन जरुरी देखिन्छ । तर पहिलेभन्दा अहिले केही विकास भएको छ ।
साहित्य र कला क्षेत्रमा लागेर जीवन निर्वाह गर्नको सम्भावना
साहित्य र कला क्षेत्रमा लागेर पनि जीवन निर्वाह सम्भव छ । आर्ट ग्यालरीहरुको स्थापना, सहित्या एवम् कलाको प्रचार प्रसार कार्यक्रम स्थलको उचित व्यवस्था, विभिन्न तालिम सेमिनार, प्रतियोगिताको बिकास प्रबर्द्धनका लागि नेपाल सरकार तथा स्थानिय निकाय र अन्य सरोकारवाला पक्षले कलाकारहरुका लागि आफ्नो प्रतिभा देखाउने उचित संस्थानको व्यवस्थापन गरिदियोस्आयोजना, सरकारी पहलमा राष्ट्रिय अन्तर्राष्ट्रिय सहभागीता एवम् विधालय स्तरबाट नै कला साहित्यको विकाशका निम्ति प्रशिक्षक राखेको खण्डमा यस क्षेत्रमा लागेर पनि जीवन निर्वाह गर्न सकिन्छ ।
बिकास प्रबर्द्धनका लागि नेपाल सरकार तथा स्थानिय निकाय र अन्य सरोकारवाला पक्षले कलाकारहरुका लागि आफ्नो प्रतिभा देखाउने उचित संस्थानको व्यवस्थापन गर्न जरुरी छ । कलाकारहरुको मर्म बुझ्न आवश्यक छ ।
सरोकारवाला पक्षको ध्यानाकर्षण
६६ बर्षीय उमेरमा समेत परम्परागत, लोपोन्मुख तथा धार्मिक, सांस्कृतिक र दैनिक जीवनमा कला सामग्री निर्माण गरिरहेका श्यामानन्द सिंह लगायतका कलाकारहरुका कलालाई संरक्षण, प्रबर्द्धन एवम् विकासका लागि स्थानिय सरकारले विशेष भुमिका निर्वाह गर्न तर्फ ध्यानाकर्षण हुन आवश्यक छ ।
पत्रकार संगको अन्तरवार्तामा आधारित सिंहको वास्तविक कथा जसलाई नील खबर मार्फत चित्रण गरिएको छ ।