नवलपुर — नुवाकोटको किस्पाङ गाउँपालिकामा विपद्बाट प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्ने उद्देश्यले एमआरआर (MRR) नवलपुरको टोली राहत सामग्रीसहित किस्पाङतर्फ प्रस्थान गरेको छ।
नवलपुरका विभिन्न स्थानबाट संकलन गरिएको राहत सामग्री कावासोती, दलदले,गैँडाकोट र चोरमारामा संकलन तथा व्यवस्थापन गरिएको थियो। राहत संकलन अभियानमा Genz Nawalpur को सहकार्य , युवा भजन समूह गैँडाकोट तथा हुप्सिकोटका युवाहरू लगायतको सक्रिय सहभागिता रहेको थियो।
संकलित राहत सामग्रीमा प्रभावित परिवारलाई आवश्यक पर्ने विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू समावेश गरिएको जनाइएको छ। सहयोग अभियानमा स्थानीय युवा तथा विभिन्न समूहहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
राहत सामग्री बोकेका पहिलो चरणमा १३ वटा बस दिउँसो १२ बजे किस्पाङतर्फ प्रस्थान गरेका थिए। त्यसैगरी राति ११ बजे थप २ वटा बस राहत सामग्री लिएर प्रस्थान गरेका छन्। बाँकी ४ वटा बस भोलिपल्ट बिहान किस्पाङतर्फ जाने तयारी गरिएको छ।
कुल १९ वटा बसमार्फत राहत सामग्री किस्पाङ पुर्याएर प्रभावित नागरिकलाई वितरण गरिने जनाइएको छ। विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले नवलपुरका युवाहरूले सञ्चालन गरेको यो अभियानले मानवीय सहयोग र सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ।
राहत सामग्री किस्पाङ पुगेपछि स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षसँगको समन्वयमा वास्तविक प्रभावित परिवार पहिचान गरी आवश्यकताका आधारमा सामग्री वितरण गरिने बताइएको छ।
मानवीय सहयोगका लागि नवलपुरबाट गरिएको यस अभियानले विपद्को समयमा युवाहरूको सक्रियता, सामाजिक उत्तरदायित्व र एकताको उदाहरण प्रस्तुत गरेको छ।