भरतपुर । मुखैमा आएको पर्व तिहारको समयमा भीडभाडका कार्यक्रमहरु गर्नलाई रोक लगाइएको छ । चितवन जिल्लामा कोरोना सङ्क्रमितको संख्या दिनानुदिन बढिरहेको हुनाले तिहार पर्वमा हुने सम्पूर्ण भीडभाडका कार्यक्रमहरुमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का कारण यसवर्षको तिहारमा भेला भएर गरिने मेला, नाचगानदेखि देउसीभैलोसम्मका सम्पूर्ण कार्यक्रमहरुमा रोक लगाइएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दसैँमा जस्तै तिहारमा पनि जमघट भएर गरिने सम्पूर्ण कार्यक्रमहरु गर्नलाई रोक लगाइएको बताए । उनले भने, ‘एक–दुई दिनमा सूचना पनि जारी गर्नेछौँ, तिहारमा भेला भएर गरिने सम्पूर्ण गतिविधिमा रोक लगाउनेछौँ ।’
कोभिड–१९ को कारण देउसीभैलो, उत्सव, मेला तथा भीडभाड हुने सम्पूर्ण कार्यक्रमहरु यसवर्ष स्थगित गर्न चितवन प्रशासनले सबैमा आग्रह गरेको छ ।
देउसीभैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना सङ्क्रमणको जोखिम झन् उच्च हुने भएकाले यसवर्ष जिल्लामा देउसीभैलो खेल्नलाई रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाका अनुसार चितवनमा कोभिडको सङ्क्रमण उच्च रहेको र मृत्युको संख्या पनि दिनानुदिन बढिरहेको हुनाले भीडभाडका कार्यक्रमहरु गर्नलाई रोक लगाइएको हो ।
विगतका वर्षझैँ तिहारमा दाजुभाइ तथा दिदीबहिनीलाई ओहोरदोहोर नगर्न पनि प्रशासनले आग्रह गरेको छ । तिहार पर्वलाई घरभित्रै बसेर खुसीसाथ मनाउन भनिएको छ ।
‘हामी रहेमात्र हाम्रा चाडपर्व रहन्छन्, चाडपर्वहरु अरु वर्ष पनि आउँछन्, यो वर्ष कोरोना भाइरसका कारण आफू बसिरहेको ठाउँमा सुरक्षित भएर तिहार पर्व मनाउन आग्रह गर्दछौँ’, सूचना अधिकारी सिंखडाले भने ।
यसपटकको तिहारमा कोही कसैले निर्णयविपरीत देउसीभैलोको कार्यक्रम सञ्चालन गरेमा कानुनअनुसार कारबाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।
सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दैनिक कामकाज एवं चाडपर्वहरु मनाउन प्रशासन कार्यालयले भनेको छ । कार्तिक २८ गतेबाट तिहार पर्व सुरू हुन्छ । यसवर्ष लक्ष्मीपूजा र ककुर तिहार कार्तिक २९ गते एकैदिन छ । मंसिर १ गते सोमबार भाइटीका परेको छ ।
तिहारमा भीडभाड गर्न रोक, देउसीभैलो पनि खेल्न नपाइने