दैलेखकी १८ वर्षीया सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गरी बच्चा जन्माएकी दैलेखको नारायण नगरपालिका–११ विन्ध्यावासिनीकी दीपा बिक र उनको नवजात शिशुको मृत्यु भएको हो।
मंगलबार दैलेखको भगवतीमाई गाउँपालिका-२ स्थित माइतीको घरमा आँगनबाट लडेपछि उनलाई उपचारका लागि दैलेख अस्पताल लगिएको दीपाका श्रीमान खड्क बिकले बताए। उनलाई दैलेख अस्पतालबाट सुर्खेत रिफर गरिएको हो।बुधबार बिहान ७ बजे प्रदेश अस्पताल पुर्याइएकी दीपा बेहोस रहेको अस्पतालका मातृ–शिशु स्वास्थ्य सेवा प्रमुख कल्पना थापाले जानकारी दिइन्।
‘बिरामीलाई यहाँ पुर्याउँदा नै अचेत अवस्था थियो, उहाँलाई कृतिम स्वासप्रस्वास दिएर भेन्टिलेटरमा राखेका थियौं,’ उनले भनिन्, ‘भेन्टिलेटरमै हुँदा उहाँलाई सुत्केरी गराइएको थियो।’
बुधबार बिहान साढे ११ बजे बच्चा निकालिएको उनले बताइन्। थापाका अनुसार पेटभित्रै मरिसकेको बच्चाको तौल २ किलो ८०० ग्राम थियो। बच्चा निकालेको केही समयपछि आमाको पनि मृत्यु भइसकेको उनले बताइन्।
स्वास्थ्यकर्मीले दीपाको बच्चा जन्माउने मिति कात्तिक २५ गते दिएका थिए।
-साभार: सेटोपाटी