प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइबार एक विज्ञप्ति जारी गर्नुहुँदै केसीसँग भएका सहमतिलाई सरकारले इमान्दार ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनुभएकाे छ ।

कांग्रेस प्रवक्ता शर्माले यसअघि सरकारले गरेका सहमति कार्यान्वयन नहुँदा डाक्टर केसी यसपटक पनि अनसनमा बस्नुपरेको उल्लेख गर्दै इमान्दार ढंगबाट सहमति कार्यान्वयन गर्न माग गर्नुभएकाे छ। डाक्टर केसीले आइतबार बिहान अनसन तोडेका हुन्। उनको यो १९ औं अनसन थियो ।
‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द के.सी. र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ । स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न कांग्रेस वर्तमान सरकारलाई सजग गराउँदै सार्वजनिक रुपले आग्रह समेत गर्दछु।’
यस्तो छ कांग्रेसको विज्ञप्ति:
आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द के.सी. र संघीय सरकार बीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ। स्वदेश र बिदेशबाट विभिन्न माध्यमबाट, विभिन्न ढंगले पछिल्लो आन्दोलनमा सरिक सबैमा बधाई ज्ञापन गर्दछ।
डा. के.सी.ले अघि सार्नु भएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो। जुम्ला अनशन पछि काठमाडौं आइपुग्दा दुर्व्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ।
सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं। तर विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं। वर्तमान प्रधानमन्त्री स्वयंको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही बर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको थियो।
नेपाली कांग्रेसको नेतृत्वमा रहेकोे अघिल्लो सरकारले डा. केसीका मागहरू पुरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सृजना भएको थियो।
अतः थप द्वन्द्व सृजना हुन नदिन २४ असोजको मध्यरातमा गरिएको ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न नेपाली कांग्रेस वर्तमान सरकारलाई सजग गराउंदै सार्वजनिक रुपले आग्रह समेत गर्दछ।
जय नेपाल!
विश्वप्रकाश शर्मा
प्रवक्ता
