गजल - १
शासक राजा हुनुपर्छ प्रजा भिखारी हुनुपर्छ,
यो संघिय नेपाल हो यस्तै तयारी हुनुपर्छ ।
गरीब मार्दै जा सरकार आफैं घट्छ गरीबी,
यो निति अब सर्वसम्मत सरकारी हुनुपर्छ ।
कुलमानसँग योग्यता कहाँ छ र भनेजति ,
कि लोकमान हुनुपर्छ कि भ्रष्टचारी हुनुपर्छ ।
लाचारी छ प्रतिपक्ष कुटील छ सत्ताधारी,
लुटेरालाई हेरीहेरी हामी आभारी हुनुपर्छ ।
राहत कोषबाट हेलिकप्टर किन्नु प्रम ज्यु,
तपाईंका मन्त्रीहरु उद्दारमा सवारी हुनुपर्छ ।
गजल - २
जब याद परदेशबाट आँगनसम्म पुग्छ ।
निर्लज्ज भै आँशु पनि नयनसम्म पुग्छ ।
दुखाउने मात्र होइन दिलाउँछ ठक्करले,
धार लाउन फलाम पनि घनसम्म पुग्छ ।
कैयन साथीहरु भन्दा एक मित्र हुन्छ काफी,
बाँकी सब सम्झनामा, एउटा मनसम्म पुग्छ ।
जसै भेट्छ यो शिरले काख र हात जननीको,
जुन् उमेरको सन्तानहोस् बचपनसम्म पुग्छ ।
भावना र कर्तव्यबिच भिषण युद्ध लड्नुपर्दा,
कर्तव्यलाई शिरमा राख्दै राम बनसम्म पुग्छ ।
गजलकार
सुदामा कृष्ण