गजल - १
यस्तो जिन्दगी छ जहाँ कुनै टेको छैन,
फ़ेरि के चमत्कार हो? भाचिएको छैन ।
जोखिम बोकेर बचायो या षड्यन्त्र हो,
सिरक जलाउनेको तन्ना जलेको छैन ।
किन तड्पि रहेछ प्यासी बगर एक्लै,
बुझ्नु पर्थ्यो नदीले अझै बुझेको छैन ।
म घाम हुँ हरेक दिन ऊ भित्र हराउँछु,
उस्ले फेरि आफु क्षितिज ठानेको छैन ।
जून टिपेर मुखले प्रेम गर्छु कसरी भनुँ,
टाउको टेकेर टाउको खुट्टा बनेको छैन ।
गजल - २
मलाई फुट्नै पर्ने भो तिम्रो घर बन्नपनि ।
कहाँ सजिलो रहेछ र पत्थर बन्नपनि ।
हामी अलग हुन यौटै कारण काफी भो
एउटै नदी चाहिन्छ दुइटा बगर बन्नपनि ।
सादा भयौ भने कफन ठान्छन् विचार गर्नु
बुट्टा भरिनुपर्छ कम्तिमा च्यादर बन्नपनि ।
बद्शालाको जागिरे रहेछौ खुसी लाग्यो
अब मर्नु पर्ने भो भेट्ने अवसर बन्नपनि ।
पृथक हिमाल ओली
बाँसगढी नपा-१ बर्दिया
हाल घोराही उ.प.म.न.पा.-२ दाङ