''कानुन"
भेल पसेर चुल्होमा
आगोलाई बलात्कार
गरिरहेको छ
बाढी उर्लेर धुरीको खुट्टा
भाँचिरहेको छ
पहिरोले तानेर आँगनको
गला काटिरहेको छ
म एक जोडी आँखालाई साक्षी राखेर
आँशुहरुको सर्जमिन
सहित
किनारमा भिजिरहेको छु
कृपया ! पानीलाई फाँसी दिईयोस्
बुढो बतास छिरेर
कलिला जामाहरुलाई
जबर्जस्ती उडाई रहेको छ
नोटको हुरी पसेर
अदालतका झ्याल
ढोकाबाट सिन्दुरको डोरी
चुँडाई रहेको छ
म फोक्सोमा
यातनाहरुको टोर्नाडो
खाँदेर सहनशिलताको सुनामी सहित
आर्यघाटमा उभिईरहेको छु
कृपया !
हावालाई कोर्रा बर्साइयोस्
हिउँ लिपेर हिमाललाई
सेतो भनि रहेको छ
गुराँस पोतेर पहाडलाई
रातो भनि रहेको छ
गर्मी दलेर तराईलाई कालो भनि रहेको छ
म एक डल्लो उज्यालोको
विभेद लेखेर
एक टपरी जूनको उजुरी
सहित
टाउकोमा मसाल
दन्काईरहेको छु
कृपया ! घामलाई मृत्युदण्ड दिईयोस्
हिलो उछिट्टिएर
कमलका फूलहरु
ओइली रहेका छन्
धुलो उडेर सृष्टिका रंगहरु
मेटिरहेका छन्
बालुवामा भासिएर
शालिकहरु उभिरहेका छन्
म सुकुम्बासी माटोहरुको
कित्ता काटेर
शरणार्थीहरुको लालपूर्जा
सहित
भूगोल टेकिरहेको छु
कृपया ! जमिनलाई
जेल हालियोस्
यहाँ प्यास मेट्नु भन्दा धेरै
प्राण छिन्छ पानीले
सास उकास्नु भन्दा धेरै
सास दबाउँछ हावाले
समानताको रंग भन्दा
अहमताको दाग
देखाउँछ घामले
'हाम्रो' भन्नु भन्दा धेरै
'मेरो' भन्छ जमिनले
यदि
पानी जस्तो दिमाग र
हावा जस्तो हृदय हुन्छ
भने घाम जस्तो
मन र जमिन जस्तो
कदम हुन्छ भने
म दिमागलाई झुण्ड्याउँछु ,
हृदयलाई बगाउँछु
मनलाई जलाउँछु ,
कदमलाई गाड्छु
कृपया !
मलाई भगवान बनाईयोस् ।।
©रोशन परियार "रोपनी"