रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा हालसम्म गरिएको कार्यहरुको समीक्षा गर्दै नेपाल सरकारद्वारा जारी गरिएको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड थप कडाईका साथ कार्यान्वयन हुने भएको छ ।
नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता एवं सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायिक संघ-संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिमा शनिबार बसेको नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड थप कडाईका साथ कार्यान्वयन गराउनुका साथै बिना मास्क घर बाहिर निस्किनेलाई ठाउँको ठाउँ कार्वाही गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कने, घर बाहिर निस्कनै पर्ने भएमा मास्कको अनिवार्य प्रयोग गर्ने, यदि मास्क नलगाई बाहिर निस्केको पाइएमा तत्काल एक सय रुपैंयाँ जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै बैक, वित्तीय एवं सहकारी संघ-संस्थाहरुमा जनस्वास्थ्य मापदण्ड र उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाई न्यून जनशक्ति परिचालन गर्ने गरी सेवा सुचारु गर्न सम्बन्धित संस्थाले स्वयं व्यवस्था मिलाउने निर्णय गरेको छ भने भौतिक दुरी कायम हुन नसक्ने डेण्टल, सैलुन, ब्युटीपार्लर, हाटबजार, व्यायमशाला जस्ता सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय पनि सिसीएमसी बैठकले गरेको छ ।
विभिन्न निकाय एवं संघ-संस्थाबाट गरिने भेला, गोष्ठी, सेमिनार लगायतका कार्यहरु तथा चाडपर्वको नाममा गरिने जमघटका कार्यहरु गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले जानकारी दिनुभयो । औषधिजन्य बाहेकका सबै प्रकारका व्यवसाय तथा पसलहरु साँझ ७ बजेभित्र अनिवार्य बन्द गर्ने, यदि निर्णयको अवज्ञा गरी सञ्चालन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने निर्णय पनि बैठकले गरेको उहाँले बताउनुभयो ।
कोरोना समुदाय स्तरमा देखा पर्न थालिसकेको कुरालाई मध्यनजर गर्दै नगर क्षेत्रमा कोरोनाको अवस्था पहिचान गर्न समुदायस्तरमा संभावित सबै क्षेत्रलाई समेट्ने गरी प्रतिनिधिमूलक रुपमा पीसीआर परीक्षणको दायरा बढाउने तथा संभावित जोखिमलाई मध्यनजर गरी नगरपालिकाद्वारा संचालित आईसोलेसन सेन्टरको थप क्षमता विस्तार गर्न आवश्यक प्रकृया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो ।
त्यस्तै नगरपालिका तथा यस अन्तर्गतका कार्यालयहरुबाट प्रदान गरिने अति आवश्यक सार्वजनिक कामकाज बाहेकका घरनक्सा, राजस्व, पंजीकरण, व्यवसाय/सहकारी दर्ता र नविकरण लगायतका सेवा प्रवाह सम्बन्धी कार्यहरु आगामी भाद्र १० गतेसम्म बन्द रहनेछन् ।
कोरोना संक्रमितको मनोबल उच्च बनाउन एवं शीघ्र स्वास्थ्य लाभमा टेवा पुर्याउन छिमेकी, ईष्टमित्र लगायत सबैले मनोवैज्ञानिक त्रास हटाउन सहयोग पुर्याउन नगरपालिकाले सबैमा अपिल गरेको छ ।