म सुत्ने कोठा
मध्यरातमा
झल्यास्स निद खुल्दा
झ्यालबाटै देखियोस
शान्त उभिएका तरुहरु
जमिनमा
टिलपिल ताराहरु
गगनमा
र प्रियसिको अनुहार
चन्द्रमामा
सुनियोस चराका चिर्बिर
त्यहीँबाट
फुलहरु देखिउन
मुस्कुराइरहेका
सौम्य बगिरहेको होस
नदि धर्तिको काखमा
भित्तामा पोतिएको होस
सादगिको रङ
छानो गदगद होस
बर्शातको चुम्बनले
म भुइँमै मस्त निदाउ
एक सरो फाटो ओढेर
र आनन्दित हुन सकु
माटोको सुगन्धले
जसरी निदाउछ लास
चुपचाप चितामाथि
शान्त निदाउन सकु
हरदिन म त्यसै गरि
मुक्त हुन सकु
सङ्ग्रहको लोभबाट
फुत्किन सकु मोहको
बन्धनबाट
साच्चै नदितटको घाट जस्तै
होस
अझ घाटमाथिको चिहान
जस्तै होस
म सुत्ने कोठा
दिपक भट्टराई
कावासोती-५, नवलपुर
२०७७/०५/२८