उर्मिला यादव, परासी, साउन ३० । पश्चिम नवलपरासीमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले साउन ३१ गते शनिबार राति १२ बजेदेखि भदौं ६ गते राति १२ बजेसम्म सात दिन पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो। बैठकले निषेधाज्ञा अवधिभर मानिसहरुको जमघट ,भेटघाट ,कुनै प्रकारको बैठक ,समिक्षा ,गोष्ठी, सेमिनार, छलफल ,भेला जस्ता सामुहिक जमघट कार्य नगर्न निर्देशन दिएको छ । यस्तै गरि धार्मिक स्थलहरुमा दैनिक नित्य , पुजा बाहेक अन्य गतिविधिहरुमा रोक लगाइएको छ भने चाडपर्व घरमै मनाउन अनुरोध गरिएको छ । निषेधाज्ञामा सरकारी एबं बैंक तथा वित्तिय संस्थामा विद्युतीय सेवा बाहेक सर्वसाधारणको उपस्थितिमा गरिने सबै सेवा बन्द गरिएको जनाइएको छ । पछिल्लो पटक समुदायमै कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएकाले संक्रमणको जोखिम अझ बढी बढ्न सक्ने संभावना रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताएका छन । यस्तै गरि सुनवल नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितीले पनि यहि शनिबार राती १२:०० बजे देखी भाद्र ०६ गते राती १२:०० बजे सम्म सुनवल नगर क्षेत्र शिल गर्ने निर्णय गरेको छ ।
पश्चिम नवलपरासीमा भोलिदेखी निषेधाज्ञा जारी