जितेन्द्र थारू, रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिकाले भोलि देखि गाउँपालिका क्षेत्रभित्र कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको छ । विगत लामो समयदेखि गरिएको लकडाउन हाल नेपाल सरकारले खुकुलो बनाएसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्र साउन ३० गतेदेखि भदौं ५ गतेसम्म कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका समय खाद्य किराना पसल, डिपार्टमेन्ट स्टोरहरु आवश्यक सामाजिक दुरी कायम गरी दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै खोल्न पाउनेछन् भने दुध, तरकारी तथा फलफूल पसलहरु बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिए । गाउँपालिकाले गरेको निर्णय अनुसार जनतासँग प्रत्यक्ष सम्पर्कमा रहि सेवा प्रभाव गर्ने बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुले तालिका बनाई गाउँपालिकाको स्वीकृतिमा मात्र खोल्न पाइने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । गाउँपालिकाभित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म पूर्णरुपमा बन्द रहने उनले बताए । सुरक्षा मापदण्ड पालना गराउने जिम्मेवारी स्वयं रोजगारदाताले लिनुपर्ने प्रावधानका साथ औद्योगिक तथा निर्माणजन्य कार्यमा संलग्न कर्मचारी तथा श्रमिकहरुको सुरक्षा मापदण्ड पालना गरी संचालन गर्न सकिने निर्णय भएको पौडेलले जानकारी दिए । गाउँपालिका कार्यालयबाट सम्पादन हुने अत्यावश्यक सेवा विपद व्यवस्थापन तथा दैनिक प्रवाह हुने स्वास्थ्य सेवा बाहेक अन्य सबै सरकारी सेवाहरु बन्द रहने गाउँपालिकाले निर्णय गरेको छ । त्यस्तै वडा कार्यालयहरूबाट सम्पादित हुने दैवि प्रकोप र कोरोना संक्रमणसँग सम्बन्धित अति आवश्यक सिफारिसको लागि सम्बन्धित वडा अध्यक्ष तथा वडा सचिवलाई सम्पर्क गर्न सकिने गाउँपालिकाले जनाएको छ । लकडाउनका समय विद्युत, खानेपानी, दमकल र सरसफाई सम्बन्धी सेवा र सोको लागि प्रयोग हुने अति आवश्यक सवारी साधन बाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै ठेला, साइकल जस्ता साधन प्रयोग गरी सडकपेटी, फुटपाथ, हाटबजार लगायत सार्वजनिक स्थलहरुमा वस्तु तथा सेवा बिक्री वितरण गर्न पाइने छैन । साथै लकडाउनका समय अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा मास्क, ग्लोब्स र स्यानिटाइजर प्रयोग गरी स्वास्थ्य सतर्कता अपनाउन सबैलाई गाउँपालिकाले अनुरोध गरेको छ ।
थप कडाईका साथ रुपन्देहीको ओमसतियामा लकडाउन