काठमाण्डौ – त्रिदेशीय कप फुटबलका विजेता खेलाडी लाई सरकारले जनही चार/चार लाख रुपैयाँ दिने भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही चार/चार लाख रुपैयाँ दिने निर्णय गरेको हो । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा गएको सोमवार भएको फाइनल खेलमा नेपालले बङ्गलादेश लाई दुई–एक गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो ।
नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका थिए । उपाधि सँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ । नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रङ्गशाला पुग्नुभएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पनि विजेता खेलाडीलाई जनही एक लाख रुपैया पुरस्कार दिने घोषणा गरिसकेको छ ।