नवलपुर, असार १९ [बसन्त न्यौपाने]
शैक्षिक सत्र २०८१ सालको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गरी उच्चतम जीपीए ल्याउन सफल विद्यार्थीहरूलाई नवजागरण नमुना माध्यमिक विद्यालय, चोरमारा–७, मध्यविन्दु, नवलपुरले आज एक भव्य सम्मान समारोह आयोजना गरेर सम्मान गरेको छ।
आज बिहिवार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका प्रधानाध्यापक श्री हरिप्रसाद देवकोटाले सफल विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै जीवनमा सफलता प्राप्त गर्न निरन्तर परिश्रम, इमान्दारिता र अनुशासनको महत्व अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा अझ बढी लगनशील र लक्ष्यप्रति समर्पित हुन प्रेरित गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विन्दु काफ्लेज्यूले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदायको सक्रिय सहभागिता अत्यावश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक संघका प्रतिनिधिहरू, विभिन्न सामाजिक तथा शैक्षिक व्यक्तित्वहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका विभिन्न संयोजकहरू तथा शिक्षकहरू पनि विशेष उपस्थित रहनुभएको थियो। होस्टेल संयोजक नारायण अर्याल, विज्ञान शिक्षक पिताम्बर पोखरेल, लेखा शिक्षक गोविन्द खनाल, +२ संयोजक टीका तिवारी, नेपाली माध्यम संयोजक प्रकाश पंगेनी, विज्ञान तथा प्राविधिक समूह संयोजक धुर्व रिजाल लगायतका शिक्षक–शिक्षिकाहरूको उपस्थिति र सक्रियताले कार्यक्रमलाई थप भव्यता प्रदान गरेको थियो।
कार्यक्रममा केही विद्यार्थीहरूले आफ्नो अनुभव र सफलताको कथा समेत साझा गरे। उनीहरूले कडा मिहिनेत, समय व्यवस्थापन, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको साथलाई आफ्नो सफलता पछाडिको मूल आधार रहेको बताए। कार्यक्रमको आकर्षक सञ्चालन विद्यालयका अङ्ग्रेजी माध्यमका शिक्षक श्री रामचन्द्र सुवेदीले गर्नुभएको थियो। विद्यालय परिवारले यस कार्यक्रमलाई विद्यार्थीहरूलाई अझ उच्च लक्ष्य प्राप्तिको प्रेरणा दिने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।