काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल समूह प्रति आक्रमक रूपमा अगाडि बढेका छन् ।
पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै लिखित स्पष्टीकरण सोध्दै नेपाल समूह माथि धमाधम कारबाहीको प्रक्रिया शुरु गरेका छन् ।
वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावल माथि कारबाही गरेको तीन दिनपछि पुनः लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बन गरेका छन्।
यसअघि ओलीले माधव कुमार नेपाल र भीम रावल लाई पनि ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । पहिलो चरणमा वरिष्ठ नेता नेपाल सहित चार जना नेतामाथि स्पष्टीकरण सोध्ने निर्णय गर्नुभएको ओलीले उक्त समूहका थप नेताहरु माथि स्पष्टीकरण मार्फत कारबाही गर्ने गृहकार्य शुरू भएको ओली निकट एक नेताले बताए ।
उनका अनुसार पार्टी नीति विपरीत गतिविधि गर्ने नेताहरु माथि पार्टीले स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अगाडि बढाउँछ ।
ती नेताले भने– ‘पार्टी अब अलमलमा पर्दैन, पार्टीभित्र गलत काम गर्नेमाथि धमाधम कारबाही शुरु हुन्छ । ’नेपाल पक्षले भने ओलीले गरेको कारबाही बाट नडराउने बताउँदै देशभर समानान्तर कमिटी गठनलाई अभियानकै रूपमा अगाडि बढाउँदै आएको छ ।
राष्ट्रिय कार्यकर्ताको भेला गरिसकेको नेपाल समूहले २०७५ जेठ ३ गते अघि नै कमिटीलाई ब्यूँताउने अभियान नै चलाएको छ ।
नेपाल समूहका नेता ठाकुर गैरेले अध्यक्ष ओलीको कारबाहीको धम्कीबाट नडराउने बताउँदै देशव्यापी राष्ट्रिय अभियान लिएर जाने बताए । उनले भने– ‘ओली प्रवृत्तिको स्वेच्छाचारी र अवसरवादको विरुद्ध राष्ट्रिय अभियान लिएर जान्छौँ ।’
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।