काठमाडौं – कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ५०२ जनाको मृत्यु भएको छ। एकैदिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि कात्तिक २७ मा १० हजार ७ जनाको मृत्यु भएको थियो ।
एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ४२ हजार ९४२ पुगेको छ । दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २०० जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५२ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५२ हजार ७४५ पुगेको छ ।
जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।