१३ असोज,चोरमारा। सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले बैज्ञानिक वन व्यवस्थापन उपभोक्ताहरुको हितमा नभएको भन्दै तत्काल खारेज गर्नुपर्ने बताएका छन । वन व्यवस्थापनको नाममा केही सिमित व्यक्तिहरुले सामुदायिक वनका उपभोक्ताहरुको अधिकार माथि नै हस्तक्षेप गरिरहेको भन्दै उनले बैज्ञानिक वन व्यवस्थापन तत्काल खारेज गरेर दिगो वन व्यवस्थापन लागु गर्नुपर्ने बताएका हुन । महासंघले बैज्ञानिक वन व्यवस्थापन शुरु भए देखिनै त्यसको विरोध गर्दै आएको स्मरण गर्दै भण्डारीले हाल संसदीय उपसमितिले समेत बैज्ञानिक वन व्यवस्थापन खारेज गर्नुपर्ने प्रतिवेदन दिएकाले तत्काल बैज्ञानिक वन व्यवस्थापन खारेज गर्नुपर्ने बताए । बैज्ञानिक वनको नाममा वनका कर्मचारी र केही बिचौलियाले वनको विनाश तथा आर्थिक अपचलन गरिरहेको भन्दै उनले उपभोक्ताहरुलाई विभिन्न प्रलोभन र प्रभावमा पारेर लागु गरिएको बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्नुपर्ने बताए । हाल संसदीय उपसमितिले तयार गरेको प्रतिवेदन प्राप्त भई नसकेपनि विभिन्न सञ्चार माध्यममा आएको समाचार अनुसार बैज्ञानिक वन व्यवस्थापनको नाममा वनको विनाश र आर्थिक अपचलन भएको ठहर उपसमितिले समेत गरेको उनले बताए । मंगलबार नवलपुरको हुप्सेकोटमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, हुप्सेकोट स्थानीय महासंघले आयोजना गरेको सामुदायिक वनको सवालहरुमा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सामुदायिक वनका पदाधिकारीहरुलाई झुठो मुद्दा लगाएर फसाउने काम भइरहेको भन्दै वन संरक्षणमा क्रियाशिल पदाधिकारी माथि लगाएका सबै झुठा मुद्दा फिर्ता लिन समेत माग गरे ।महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले सामुदायिक वनको कार्ययोजना बमोजिम उपभोक्ता समूहहरुलाई काठ सदुपयोग गर्न रोक लगाउने, अधिकारबाट बञ्चित गर्ने र बैज्ञानिक वनमा जान सामुदायिक वनलाई दवाव गर्ने काम भइरहेको भन्दै तत्काल त्यो कार्य रोक्न माग गरे । जिल्ला महासंघ सचिव सिता भुसालले बैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना निर्माण देखि नै आर्थिक अपचलन शुरुवात भइरहेको बताइन । अन्तरक्रिया कार्यक्रममा हुप्सेकोट गाउँपालिकाको विभिन्न सामुदायिक वनका अध्यक्षहरुले बैज्ञानिक वन व्यवस्थापन, दिगो वन व्यवस्थापन, हाल बन्द रहेको सालको काठ बिक्रि वितरण, उपभोक्ताहरुको अधिकारबारे सवालहरु उठाएका थिए ।मयुर पोखरी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा हुप्सेकोट महासंघका अध्यक्ष गुरु खनालको अध्यक्षता तथा केन्द्रीय महासंघ सचिव ठाकुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, प्रदेश सदस्य देवीमाया घिमिरे, सालिकराम कोइराला, जिल्ला महासंघ अध्यक्ष ठाकुर भण्डारी, सचिव सिता भुसाल, कोषाध्यक्ष हुमनाथ पाण्डे, जिल्ला सदस्य मनि पाण्डे, शुशिल पौडेल, हुप्सेकोट गाउँपालिका–३ का वडा अध्यक्ष छविलाल मिथुन लगाएतको उपस्थिति रहेको थियो ।
बैज्ञानिक वन व्यवस्थापन तत्काल खारेज गर्न केन्द्रिय सचिव भण्डारीको माग