आशिष बहादुर सिंह
बझाङ । बलात्कृत भएर चैनपुरमा रहेको महिला सुरक्षा आवास गृहमा राखिएकी बालिकाको अन्तर्वार्ता सार्वजनिक भएको छ । युटुब पत्रकार भोजराज थापाले बालिकाको भिडियो सार्वजनिक गरेका हुन् ।
विश्व सामु चिनाउने गरी युटुबबाट बलात्कृत बालिकालाई सार्वजनिक गरिएको भन्दै बालिकाका अभिभावकले आपत्ति जनाएका छन् । बालात्कारबाट पीडामा परेकी बालिकालाई अन्तर्वार्ता लिएर सार्वजनिक गरी पीडामाथि झन पीडा थपेको अभिभावको गुनासो छ ।
टाउकोमा सल र मुखमा माक्स लगाएर भाउजुसँगै राखेर बलात्कृत बालिकाको अन्तर्वार्ता लिइएको छ । यसले सेफ हाउसभित्रै महिला असुरक्षित रहेको अधिकारकर्मीहरुको भनाइ छ । यस विषयमा सेफ हाउसका कर्मचारी भने आफूहरुलाई अन्तर्वार्ताको बारेमा केही थाहा नभएको बताउँछन् । उनीहरुले भोजराजको खोजी भइरहेको समेत बताए ।
मष्टा गाउँपालिकाकी ती बालिकामाथि साउन २९ गते बलात्कार भएको घटना जिल्ला प्रहरी कार्यालय बझाङमा आइतबार दर्ता भएको थियो । बलत्कार पछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना विकको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्दा साउन २९ गते ती बालिकाको बलात्कार भएको र मिलापत्र गरेर आरोपीलाई छोडिएको पत्ता लागेको प्रहरी नायक उपरीक्षक रुपक खड्काले बताउनुभयो । हाल ती बालिकालाई बलात्कार गरेको आरोप लागेका र सम्झनाको घटनामा समेत संलग्न भएको हुन सक्ने आशंकामा स्थानीय १७ वर्षीय किशोर राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।