एजेन्सी / युएई / ७ असोज । - यूएईमा चलिरहेको १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।
मंगलबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गर्दै राजस्थानले विजयी सुरुवात गरेको हो । सारजाहमा क्रिकेट मैदानमा राजस्थानले दिएको २ सय १७ रनको उच्च लक्ष्य पच्छ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।
चेन्नईका फाप डु प्लेसिसीले ३७ बलमा ७२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै शेन वाटसनले ३३ तथा केदार जादबले २२ रन बनाए । मुराली विजय २१ रनमा आउट हुँदा साम करनले १७ रन जोडे । कप्तान महेन्द्र सिंह धोनी २० रनमा अविजित रहे । राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए । श्रेयास गोपाल, जोफ्रा आर्चर र टम करनले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । राजस्थानको उच्च स्कोर बनाउने क्रममा सन्जु सामसन र कप्तान स्टिभ स्मिथले अर्धशतकीय इनिङ्स खेले । सामसनले ३२ बलमा ७४ रनको अर्धशतकीय इनिङ्स खेले । स्मिथले ४७ बलमा ६९ रन बनाए । यस्तै जोफ्रा आर्चरले अविजित २७ रन जोड्दा टम करनले अविजित १० रन जोडे ।
चेन्नईका लागि साम करनले ३ विकेट लिए । यस्तै दिपक चाहर, पियुस चावाला र लुंगी एनजिडीले एक एक विकेट लिए । जितसँगै राजस्थानले २ अंक जोडेको छ । चेन्नईले भने पहिलो हार व्यहोरेको छ । पहिलो खेलमा चेन्नईले साविकको विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको थियो ।
आइपिएलमा आज बुधबार कोलकाता नाइट राइडर तथा मुम्बई इन्डियन्स बीच कडा प्रतिस्पर्धा हुनेछ।
मुम्बईका लागि रोहित शर्मा , किरण पोलड , हार्दिक पान्डाय, जस्प्रीत बुम्रा ,ट्र्न्ड बोल्ट हुनेछन् भने कोलकाताका लागी दिनेश कार्तिक , सुनिल नरायन, अन्द्र रसल, इयन मर्गन, कुल्दिप यादव , पट कमिन्स हुनेछन् ।