फाल्गुण ६, नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा शनिबार पशु स्वास्थ्य सेवा प्राविधिकहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल सरकारले हालै जारी गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ को बारेमा जानकारी दिने उद्देश्यले नेपाल पशु स्वास्थय सेवा प्राविधिक संघ नेल्टा गण्डकी प्रदेशको आयोजना र नेल्टा नवलपुरको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।
अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेश भरीका २ सय बढी प्राविधिकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको नेपाली काँग्रेसका महासमिति सदस्य एवम् प्रतिनिधि सभा सदस्य विष्णु कुमार कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले कृषि र पशुका क्षेत्रमा लगानी बढाउनु पर्ने, कृषकहरुलाई विभिन्न क्षेत्रमा अनुदान दिएर कृषि तथा पशु क्षेत्रको उत्पादनमा जोड दिनु पर्ने बताए । उनले पशु प्राविधिकहरुलाई दक्ष बनाउनका लागि बेलाबेलामा तालिम तथा प्रशिक्षणको आयोजना गर्नु पर्नेमा समेत जोड दिए।
नेल्टाको अभिमुखिकरण कार्यक्रम कावासोतिमा सम्पन्न