गोविन्द नेपाली, चितवन, १५ कार्तिक । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय पूर्ण बैठक सम्पन्न भएको छ । तीन दिन पहिले देखि चितवनमा जारी बैठक आइतबार सकिएको हो । बैठक कार्तिक १२ गते रातीदेखि शुरू भएको थियो। प्रथम राष्ट्रिय महाधिवेशनपछि भौतिक उपस्थितिमै यसपटक चितवनमा केन्द्रीय पूर्ण बैठक आयोजना गरिएको संघका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले जानकारी दिए । बैठकमा संघका केन्द्रीय महासचिव दर्नालले संघको दुई वर्षे रणनीति तथा कार्ययोजना प्रस्तुत गरेका थिए। संघको केन्द्रीय सचिवालय अनुसार बैठकले देशभर घटेका जातीय भेद्भाव तथा छुवाछूतका घटनाहरू थप अध्ययन, अनुसन्धान गरि पीडित परिवारलाई क्षतिपूर्ति, पीडकलाई कडा भन्दा कडा कारवाहि गर्न र उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गरेको छ ।
बैठकले कोभिड १९ र मिडियामा विविध कारणले पत्रकारिताबाट कयौं पत्रकार तथा सञ्चारकर्मीहरूले जागिर छोड्नुपरेको र त्यसबाट दलित समुदाय बढि प्रभावित भएको निष्कर्ष निकालेको छ । मिडियामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व व्यवहारतः कार्यान्वयन गराउने पक्षमा बैठकमा माग गरेको छ । यस्तै बैठकले नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न, सरकारी सञ्चार माध्यमका सञ्चालक समिति एवम् बोर्डमा समावेशीताको आधारमा राजनीतिक नियुक्ति गर्न र जातीय भेदभाव तथा छुवाछुतका घटनाहरूलाई प्राथमिकतासाथ मिडियाकरण गर्न माग गरेको छ । त्यस्तै केन्द्रीय पूर्ण बैठकले ७ वटा विभाग र १ वटा समिति चयन गरेको छ । बैठकले संघको सङ्गठन विभाग संयोजकमा लक्ष्मण दर्नाल, महिला विभाग संयोजकमा कमलाकुमारी वि.क, आर्थिक प्रशासनिक विभाग संयोजकमा भीमबहादुर घिमिरे, अन्तर्राष्ट्रिय समन्वय विभाग संयोजकमा बुद्धि विश्वकर्मा, प्रकाशन तथा प्रसारण विभाग संयोजकमा विनोद परियार, योजना तथा अनुगमन विभाग संयोजकमा गोपाल बराईली, प्रशिक्षण विभाग संयोजकमा मिलन परियार र पुरस्कार कल्याण कोष तथा पुरस्कार व्यवस्थापन समिति संयोजकमा अमर सुनार चयन भएका छन्। राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय पूर्ण बैठकको आतिथ्य तथा व्यवस्थापन चितवन शाखाले गरेको थियो । संघको आगामी केन्द्रीय पूर्ण बैठक पुष २४ गते काठमाडौंमा आयोजना गरिने संघका केन्द्रीय महासचिव दर्नालले जानकारी दिए। राष्ट्रिय दलित पत्रकार संघ, नेपालको गत फागुन २८ र २९ गते बुटवलमा सम्पन्न भएको प्रथम राष्ट्रिय महाधिवेशनमा घोषणा भएका उत्कृष्ट शाखाहरू मध्यबाट चितवन शाखा र नवलपुर शाखालाई केन्द्रीय पूर्ण बैठकको अवसरमा उत्कृष्ट शाखा सम्मान हस्तान्तरण गरेका थिए । संघको चितवन शाखाका अध्यक्ष अमिर रामदाम र नवलपुर शाखाका अध्यक्ष गोविन्द नेपालीले सम्मान ग्रहण गरेका थिए । संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले उक्त शाखा सम्मान पत्र हस्तान्तरण गरेका थिए। चितवनमा आयोजित केन्द्रीय पूर्ण बैठकमा अध्यक्षता संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले गरेका थिए। केन्द्रीय समितिलाई चितवनमा स्वागत सम्मान प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचित राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो, पुष्पगुच्छा प्रदान गर्दै चितवनमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । संघका चितवन शाखा अध्यक्ष अमिर रामदामको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष बिनोद पहाडीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, नेपाल प्रेस युनियन चितवन शाखाका अध्यक्ष अनिल ढकाल, फोनिज चितवनका अध्यक्ष सन्दिप कुमार श्रेष्ठ, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल नवलपुर शाखा अध्यक्ष गोविन्द नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संघका चितवन शाखा उपाध्यक्ष गोपाल विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा संघको गतिविधि सहितको प्रकाशन भएको वर्ष २०७८ को क्यालेण्डर बिमोचन समेत गरिएको थियो।
तीन दिन पछि सकियो राष्ट्रिय दलित पत्रकार संघको केन्द्रीय पूर्ण बैठक, के-के भए निर्णय?