दोरेन्द्र खड्का, बझाङ । कोरोना संक्रमितको संख्या एकै दिन ४७ जना थपिएपछि बझाङ जिल्लाका पाँच वटा स्थानमा निषेधाज्ञा जारी गरिएको छ ।
भारतबाट आएका ४७ व्यक्तिको पिसिआर रिर्पोट पोजेटिभ देखिएपछि ती स्थानमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । दुर्गाथली गाउँपालिका-४, ५ र ७, छबिसपाथीभरा गाउँपालिका-६ र खप्तडछान्ना गाउँपालिका-६ मा आइतबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार दुर्गाथली गाउँपालिका-५ र ६ मा २१ दिनका लागि सिल गरिएको छ भने दुर्गाथली-७, खप्तड छान्ना गाउँपालिका-६ र छबिसपाथीभेरा गाउँपालिका-६ सात दिनका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।
संक्रमण रोग ऐन २०२० एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम उक्त स्थानमा अति आवश्यक कामबाहेक अन्य कामहरू निषेध गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।
बझाङ जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ६६ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ भने सात जनालाई जिल्ला अस्पताल बझाङको आइसोलेसनमा राखिएको छ । बाहिरबाट भएका वा शंका लागेका करिव ८ हजार ५ सय व्यक्तिको आरडिटी परीक्षण गरिएको छ भने चार हजार बढीको पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय बझाङले जानकारी दिएको छ ।