बुटवल -लुम्बिनी प्रदेश सांसद विमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेपछि निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ । दाङबाट प्रदेशसभा ३ (ख)बाट खत्रीले नेकपाका तर्फबाट उपचुनाव जित्नुभएको थियो । यतिबेला लुम्बिनी प्रदेशमा राजनीतिक घटनाक्रम तीव्र रुपमा परिवर्तन हुँदै गएको छ । विपक्षी दलहरु संख्यात्मक रुपमा कमजोर हुँदै गएको अवस्थामा तुलनात्मक रुपमा बलियो र सुरक्षित मानिएको सरकार यतिबेला ‘कामचलाउ’ मा सीमित हुन पुगेको छ । शंकर पोखरेलले अचानक पदबाट राजीनामा दिएसँगै उहां नेतृत्वको सरकार काम चलाउ हैसियतमा पुगेको हो ।
एकल बहुमतको सरकार गठन गर्ने तयारीमा रहेका पोखरेल लाई खत्रीले आफू नेकपा माओवादी केन्द्रमा सामेल हुने निर्णय लिएपछि ठुलो झट्का लागेको हो । एमालेका ४१ सांसद रहेको आधारमा एकल बहुमतको सरकार गठन गर्ने तयारीमा जुटेका पोखरेल लाई सांसद खत्रीले आफू एमालेमा नरहने लिखित जानकारी प्रदेश सभालाई गराए सँगै ठुलो झट्का लागेको छ ।
खत्री माओवादी केन्द्रमा सामेल भएसँगै प्रदेश सभामा एमालेको पक्षमा ४० सांसद पुगेका छन् भने काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गरी विपक्षी गठबन्धनमा पनि ४० सांसद नै पुगेका छन् । विपक्षी गठबन्धनले ४० सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख लाई भेटेर मुख्य मन्त्रीमा पोखरेल लाई सपथ नगराउन ध्यानाकर्षण गराइसकेको छ । एमालेसँग ४० सांसद रहेको र आफूहरु सँग पनि ४० सांसद नै रहेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुख लाई एमाले सँग एकल बहुमतको सरकार गठन गर्ने आधार गुमिसकेको दावी गरेको छ ।
खत्रीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला खत्री पार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई गराइसकेको छ ।