रुपन्देही-कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिए पछि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा सुरु गरेको छ । आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्ला सहित विभिन्न १५ जिल्लामा निषेधाज्ञा लागू भएको हो ।
१५ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ । गृह मन्त्रालयका अनुसार १२ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा लागू भएको हो । ३ जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ । पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यका भित्रका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका चितवन, बाँके, पर्सा, रुपन्देही, कास्की, दाङ, सुर्खेत, पाल्पा र कैलाली छन् । उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएको हो भने बाँकेमा सोमबारदेखि निषेधाज्ञा लागू भइसकेको छ ।
त्यस्तै, सुर्खेतमा मंगलबारबाट, कास्कीमा बुधबार, चितवन र कैलालीमा आजदेखि तथा पाल्पा र दाङमा शुक्रबार देखि निषेधाज्ञा लागू गर्ने निर्णय भएको छ । बर्दिया, कालिकोट र बाग्लुङका धेरै संक्रमण देखिएका क्षेत्रमा मात्र लकडाउन गरिएको छ । यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयास स्वरुप रुपन्देहीमा आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू भएको छ ।
अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न तथा घरबाहिर ननिस्कन सर्वसाधारण सँग प्रशासनले अपिल गरेको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारीले रुपन्देहीमा यहि ३० गते बिहान ६ बजे सम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गर्नुभएको थियो ।
यो अवधिमा सार्वजनिक सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ भने सभा सम्मेलन गर्न पनि पाइने छैन। अत्यावश्यक काममा भने हिडडुल गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।