७ बैशाख, बाँके । बाँके युनेस्को क्लबको आयोजनामा बर्दियाको ठाकुरबाबा नगरपालिकामा बाल बिवाह न्युनिकरणका लागि दुई दिने रणनैतिक योजना निर्माण कार्यशाला सम्पन्न भएको छ ।
२०८० को अन्त्य सम्ममा पालिकालाई नै बाल बिवाह मुक्त पालिका घोषणा गर्ने मुख्य उदेश्य र लक्ष्यका साथ पालिकामा रणनैतिक योजना निर्माण गनृका लागि सो कार्यशालाको आयोजना गरिएको थियो । प्लान नेपालको सहयोगमा बर्दियामा संचालन गरिएको परियोजना अन्तर्गत आयोजना गरिएको सो रणनैतिक योजना निर्माण कार्यशालामा ठाकुरबाबा नगरपालिकाका मेयर घन नारायण श्रेष्ठले बाल बिवाह न्यूनीकरण पालिकाका लागि ठुलो समस्या भएका कारण यसलाई न्युनिकरण गर्न पालिकाले योजना बनाएर जानु पर्ने देखिएकोले कार्यशाला निकै महत्वपुर्ण रहेको बताउनुभयो ।
उहाँले दुईदिने कार्यशालामा बाल बिवाह अन्त्य गर्नका लागि व्यापक छलफल भै रणनिति तयार भएको जनाउँदै पालिकाले तयार गरेको योजना अनुसार वडा स्तरमा अभियानहरु तिब्र रुपले अघि बढाउने कुरामा समेत जोड दिनुभयो । सोही अवसरमा बोल्दै नगरपालिकाका उप मेयर कृष्णा कुश्मा थारुले बाल बिवाह सामाजिक अपराध भएकाले यसको अन्त्यका लागि प्रस्ताविक योजना बनेकोले दुइ दिने कार्यशाला महत्वपुर्ण भएको बताउनु भयो ।
उहाँले बाल बिवाह संग जोडिएका अन्य थुप्रै सामाजिक समस्या विरुद्ध पनि सिंगो पालिका नै एकजुट भएर लाग्नु पर्ने अपिल गर्नु भयो । कार्यशालामा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामहरी रिजाल, वडा अध्यक्षहरु, महिला शाखा प्रमुख, स्वास्थ शाखा प्रमुख, योजना शाखा प्रमुख, बर्घर सन्जालका संयोजक, बाल क्लब सञ्जालका प्रतिनिधि र शिक्षा शाखा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यशालाको सहजीकरण भिम अवस्थीले गर्नु भएको थियो भने सहभागिहरुले बाल विवाह न्यूनिकरणका लागि रणनैतकि योजना बनाउन विभिन्न सुझावहरु दिनु भएको थियो । कार्यशालामा २०८० सालको अन्त्य सम्ममा पालिकालाई नै बाल बिवाह मुक्त पालिका घोषणा गर्ने र चालु आर्थिक वर्षमै वडालाइ बाल बिवाह मुक्त वडा घोषणा गर्ने प्रतिबद्धता समेत जाहेर गरिएको थियो ।
बाल बिवाह न्यूनीकरणका लागि तत्काल पालिका स्तरको बैठक बस्ने र बिहेको कार्डमा नै दुलाहा दुलहीको उमेर खुलाउने, बाल बिवाहमा कोही पनि जनप्रतिनिधि सहभागी नहुने लगायतका निर्णयहरु कार्यशालामा गरिएको थियो ।