देवचुली, एलिना केसी
देवचुली नगरपालिका वडा नं ५ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सोमबार देवचुली नगरपालिका वडा नं ५ को आयोजना र पशु सेवा शाखा देवचुलीको प्राविधिक सहयोगमा देवचुली ५ को बन्दिपुरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । कार्यक्रममा देवचुली वडा नं ५ का वडाध्यक्ष शिवलाल सापकोटाको अध्यक्षता रहेको थियो । 
शिविरमा १४ सय २५ वटा बाख्रा, ७८ वटा बङ्गुर, २ सय १ वटा गाई र ८ वटा भैसी गरि ८ सय ५१ को स्वास्थ्य उपचार गरि निःशुल्क औषधि वितरण गरिएको छ । विशेष गरि बन्दिपुरका पशुहरुमा जुका माटे, न्युट्रेशनको कमीले दुब्लापातलो रहेको देवचुली पशु सेवा शाखा प्रमुख श्याम कृष्ण तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष सापकोटाले बन्दिपुर देवचुली नगरपालिकाको विकट क्षेत्रमा पर्ने हुँदा पनि यस क्षेत्रका किसानहरुले पशुहरुका लागि त्यस्तो कुनै स्वास्थ्य चेकजाँच नगराएकाले यस शिविरले पशुपालकलाई ज्ञान र थप सहयोग हुने बताउनुभएको थियो । 
शिविरले त्यस क्षेत्रका पशु पालक किसानहरु प्रत्यक्ष लाभान्वित भएका छन् । आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु निरन्तरता दिन आग्रह समेत गरेका थिए । कार्यक्रममा वडा सदस्य, स्थानीयवासी लगायतको उपस्थिती रहेको थियो ।