शंकर खत्री, इटहरी : कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणका लागि इटहरीमा रहेको लायन्स तथा लियो क्लबहरुले चार दिन अघिदेखि सञ्चालन गरेको सेनिटाइज कार्यक्रमले शुक्रवार पनि निरन्तरता पाएको छ । क्लबहरुले इटहरीको २० वटै वडामा सेनिटाइज गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हुन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि इटहरीमा त्यसको रोकथाम र नियन्त्रणका लागि सेनिटाइज गर्ने अभियानले तिब्रता पाएको हो ।
लायन्स लियो क्लब अफ इटहरी, लायन्स लियो क्लब अफ इटहरी एक्टिभ, लायन्स लियो क्लब अफ इटहरी सिटिजन्स, लायन्स क्लब अफ इटहरी पच्रुखी, लायन्स क्लब अफ इटहरी शान्तिनगर, लायन्स क्लब अफ इटहरी लविपुर तथा एक सेकुरेटी गार्ड कम्पनीले सेनिटाइज अभियनामा हातेमालो गरेका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय इटहरीबाट सेनिटाइज गर्ने कामलाई निरन्तरता दिदै इटहरीको वडा नम्बर ५ मा रहेको अस्थाइ प्रहरी चौकी र मुख्य ठाउँमा सेनिटाइज गरिएको छ । हाल सो वडामा रहेका सक्रिय संक्रमितको घरलाई पनि सेनिटाइज गरिएको छ । लायन्स लियो क्लब अफ इटहरी एक्टिभकि अध्यक्ष रञ्जु सिग्देलले कोरोना भाइरसले इटहरीमा पारेको प्रभावलाई केहि मात्रामा नियन्त्रण गर्न सेनिटाइज गर्ने अभियानको थालनी गरिएको जानकारी दिइन ।
साथै उनले इटहरीमको सबै वडाको बढी भिडभाड हुने ठाउँमा सेनिटाइज गरिने बताइन । इटहरी ५ नम्बर वडाका अध्यक्ष कल्याण कार्कीले हाल वडा बासीमा ३ जनालाई मात्र कोरोना लागेको र बाँकी अन्य ठाउँबाट आएका मानीसमा कोरोना देखिएको जानकारी दिए । उनले कोरोना रोकथामका लागि लियो तथा लायन्स क्लबले गरेको कामको प्रसंशा समेत गरे । सेनिटाइज अभियान प्रत्येक दिन एक एक वडामा सञ्चालन गरिने तथा इलाका प्रहरी कार्यालय र बुढी गंगाजमूना मक्तिघाटमा प्रत्येक दिन सेनिटाइज गरिनेछ । शुक्रबार इटहरी ५ को वडा कार्यालय, परिवार नियोजन अस्पताल, ज्योति माध्यामिक विद्यालय, सिमरवना चोक, हटीया लाइन, मसुपसल तथा किराना पसल र मुख्य चोकमा सेनिटाइज गरिएको छ ।
इटहरीमा लियो तथा लायन्स क्लबको सेनिटाइज अभियान जारी