विवेक पोख्रेल, चितवन। चितवनमा शुक्रबार कोरोना संक्रमणका कारण दुई जनाको निधन भएको छ । भरतपुरको पुष्पाञ्जली हस्पिटलमा एक पुरुष र चितवन मेडिकल कलेजमा एक महिला गरी दुई जनाको निधन भएको हो । दुई वटै अस्पतालले विज्ञप्तिमार्फत उनीहरुको निधन भएकाे पुष्टि गरेका छन् । पुष्पाञ्जली हस्पिटलमा निधन भएका पुरुष चितवन भरतपुरका हुन् । ५१ वर्षका ती पुरुष स्वासप्रश्वासमा समस्या भई ५ भदौमा अस्पताल भर्ना भएका थिए । ८ भदौको रिपोर्टमा कोरोना देखिएपछि उनलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिँदै थियो । पुष्पाञ्जली हस्पिटलका कोभिड १९का फोकल पर्सन डा. सन्दिप पाण्डेले उनको शुक्रबार विहान १० बजे निधन भएको जानकारी दिए । यता चितवन मेडिकल कलेजमा निधन भएकी महिला हेटौंडा उपमहानगरपालिकाकी ७१ वर्षीया महिला हुन् । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले शुक्रबार विहान ६ः५० बजे उनको निधन भएको जानकारी दिए । उनी ७ भदौमा स्वासप्रश्वासमा समस्या भई अस्पताको इमरजेन्सी विभागमा उपचारको लागि आएकी थिइन । उनको त्यसै दिन स्वाब परीक्षणमा कोरोना देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । यससँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेका छ । ६ मध्ये ४ मात्र चितवन घर भएका हुन् भने बाँकी दुई जना उपचारका लागि चितवन आएका हुन् । जिल्लामा अहिलेसम्म चार सय ८६ जना कोरोना संक्रमित रहेको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
चितवनमा थप दुई कोरोना संक्रमितको निधन