देवचुली,
पुर्वी नवलपुरको देवचुलीमा अपाङ्गता व्यक्तिहरुको पहिचान गरि निःशुल्क शिविर हुने भएको छ । कोपिला नेपाल पोखरा र देवचुली नगरपालिकाको समन्वयमा देवचुलीका १७ वटै वडाका अपाङ्गता व्यक्तिहरुलाई पहिचान गरि स्वास्थ्य परिक्षण गरिने भएको हो । यही चैत्र ६ गते शुक्रबार देवचुली नगरपालिका वडा नं २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा निःशुल्क शिविर आयोजना गरिएको कोपिला नेपाल पोखरा र देवचुलीका सहजकर्ता कमला सापकोटाले जानकारी दिनुभयो ।
विशेष गरि आगोले पोलेको र शारिरीक अपाङ्ग, कम सुन्ने वा सुन्न नसक्ने, कम देख्ने वा देख्न नसक्ने र मनोसामाजिक, मानसिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु शिविरमा आई सेवा लिन समेत अनुरोध गरिएको छ । शिविरमा हिमालय आँखा अस्पताल पोखरा, अपाङ्ग बाल अस्पताल काठमाडौँ र चितवन मेडिकल कलेज बाट परिक्षणको लागि डाक्टरहरु आउनु हुने भएको छ । स्वास्थ्य परिक्षण शिविर बिहान १०ः३० बजे देखि हुने भएकाले देवचुली नगरपालिका भित्र रहेका अपाङ्गता व्यक्तिहरुलाई स्वास्थ्य परिक्षण गरि स्वास्थ्यलाभ लिन समेत अनुरोध गरिएको छ । कोपिला नेपाल पोखराले यस अघि पनि देवचुली नगरपालिकाका अपाङ्गता व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।