बुटवल । बुटवल उपमहानगरपालिका क्षेत्रभित्र भोलि बिहिबारदेखि कडाईका साथ लकडाउन हुने भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा भोलि बिहिवार राति १२ बजेदेखि भदौं ५ गतेसम्म कडाईका साथ लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनका समय खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै खुल्न पाउनेछन् भने दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने बुटवल उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै उपमहानगरपालिका र वडा कार्यालयमा समेत अत्यावश्यक बाहेकका काम नहुने र वित्तिय संस्थाहरुले समय तालिका स्वीकृत गरी खोल्नुपर्नेछ ।
सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएकोले तरकारी बोक्ने गाडीहरु परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न र साथै होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न उपमहानगरपालिकाले निर्देशन दिएको छ ।