बागलुङ: वनभोज खाएर फर्किँदै गरेका युवाहरुको समुहले बागलुङ नगरपालिका–१ रामरेखाका वडाध्यक्षसहित तीन जनालाई हातपात गरेका छन् । बुधबार साँझ बागलुङ नगरपालिका–३ मुलपानीको भोर्लाबोट भन्ने ठाउँमा वडाध्यक्ष दुर्गा बहादुर बोहरा, रामरेखाका देवबहादुर बोहरा र बुद्ध बोहरामाथी युवाहरुले हातपात गरेका हुन् । मदिराले मातेका सोही ठाउँका युवाहरुले हातपात गर्दा तीनै जना घाईते भएका छन् ।
उनीहरुमध्ये गम्भिर घाईते भएका देव बहादुर बोहरालाई धौलागिरी अस्पतालमा सामान्य उपचारपछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको वडाध्यक्ष दुर्गा बहादुर बोहराले बताए ।
२२/२५ जनाको समुहमा मोटरसाईकलमा आएका स्थानीय युवाले बिनाकसुर आँफुहरुमाथी आक्रमण गरेको भन्दै उनीहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । ‘१५ जना युवाहरुको नामथरसहितको किटानी जाहेरी दर्ता भएको छ, थप ७ जनाको परिचय नखुलेको उल्लेख छ’ प्रहरी निरीक्षक बिजय भण्डारीले भने ‘पक्राउ गर्ने क्रम चलिरहेको छ, नाम वतन खुलाउन मिल्दैन् ।’