भैरहवा । रुपन्देहीमा थप एक साता लकडाउन लम्बिएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले रुपन्देही जिल्लाभर सबै पालिकाहरुमा लागु हुने गरी लकडाउनको समयावधि थप एक साता भदौं १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।
यस अघि रुपन्देहीका विभिन्न पालिका र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आ-आफ्नै ढंगले लकडाउन गर्ने निर्णय गरेका थिए तर यस पटक भने सबैले एकरुपताका साथ लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो । उहाँले यसपटक थपिएको लकडाउनलाई पहिलेको भन्दा अलि कडा गरिने समेत बताउनुभयो ।
कपिपय पालिकाहरुले लकडाउन लम्ब्याउन जिल्ला स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम समितिलाई अनुरोध तथा दवाव दिँदै आएका थिए । सोही अनुरुप लकडाउनलाई थप प्रभावकारी बनाउन लकडाउनको बेला अत्यावश्यक सेवाका सवारी साधन बाहेक कुनै पनि सवारीसाधन सञ्चालन, पसल खोल्न तथा हिडडुल गर्न निषेध गरिएको छ ।