हालै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पराजय व्यवहोरेका डोनाल्ड ट्रम्पले आफू पुनः एक पटक अमेरिकाको राष्ट्रपति बन्ने दाबी गरेका छन्।
जो बाईडेनसँग चुनाव हारेका ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजित क्रिसमस पार्टीका क्रममा सो दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रम्पले २३२ इलेक्टोरल भोट पाउदा बाइडेन ३०६ इलेक्टोरल भोटसहित विजयी भएका थिए। ७४ मतले पराजित भए पनि यद्यपी ट्रम्पले अझैसम्म आफ्नो हार स्वीकारेका छैनन्।
यसैबिच सन् २०२४ को निर्वाचनमा ट्रम्प पुनः रिपब्लिकन पार्टीको उम्मेदवार हुनसक्ने अमेरिकाका मिडियाले आँकलन गर्न थालेका छन्।
बुधबार ह्वाइट हाउसमा ट्रम्पले एक क्रिसमस पार्टी आयोजना गरेका थिए । पार्टीमा ट्रम्पका निकट ब्यक्तिहरु मात्र सामेल रहेको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ।
उक्त कार्यक्रममा उनले वाइट हाउसमा आफ्नो ४ वर्षको कार्यकल शानदार भएको बताएका थिए। अझै ४ वर्षका लागि आउन खोजे पनि यस पटक त्यो सपना पुरा नभएको उनले स्वीकारेका थिए।
सन् २०२४ मा हुने निर्वाचनलाई लक्षित गर्दै एक पटक फेरि ह्वाइटहाउस आउने उनले बताए। उक्त पार्टीमा रिपब्लिकन पार्टीका सिनियर नेताहरूको सहभागिता थियो।
राष्ट्रपति निर्वाचनको नतिजा आएको एक महिना बितिसक्दा पनि ट्रम्पले अझैसम्म हार स्वीकारेका छैनन्।
उनले कैयौं राज्यमा धाँधली भएको आरोप लगाउदै अदालतमा मुद्दा दर्ता गरेका थिए। तर, अमेरिकी अटर्नी जनरल विलियम बारले बुधवार ट्रम्पले लगाएको धाँधलीको आरोप खारेज गरिदिएको छ।