महोत्तरीको बर्दिबास नगरपालिका-१४ स्थित शुभम वस्तीमा बालिका हत्याको विरोध प्रदर्शनमा गोली चलेको छ । हत्या आरोपीको घरमा स्थानीयले ढुंगामुढा र आगजनी गर्दा थालेपछि प्रहरीले गोली चलाएको हो ।
प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका छन् । राम कार्की, सन्जय न्यौपाने र अफ्ताव आलमक गोली लागेर घाइते भएका हुन् । अफ्तावको टाउकोमा चोट लागेको बताइएको छ । घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।
आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले प्रदर्शन गरेपछि प्रहरीले गोली प्रहार गरी स्थिति नियन्त्रणमा लिएको हो । दर्जनौँ सेल अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनका कारण अवरुद्घ बनेको पूर्व-पश्चिम राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । बालिका हत्यारालाई फासीको माग गर्दै स्थानीयले पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए । बलात्कारीलाई कारबाहीको माग गर्दै मंगलबार बिहानैदेखि स्थानीयले सडकमा टायर बालेर र शव सकडको बीचमा राखेर प्रदर्शन गरेका कारण पूर्व-पश्चिम राजमार्ग ठप्प भएको थियो ।
हत्या आरोपमा प्रहरीले महोत्तरीकै गौशाला नगरपालिका- ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले बताए । ती युवकले आरोपसमेत स्वीकार गरिसकेको उनको भनाइ छ ।
पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास भोलावसन्त चोकमा साहले किराना पसल संचालन गर्दै आएका छन् । आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला ललाई फकाई उनले आफ्नै घरमा लुकाएको बालिकाको परिवारजनको भनाइ छ ।
