वैदेशिक रोजगारीका लागि कतारमा १७ ओटा मात्र म्यानपावर कम्पनीले कामदार पठाउने गरी छनोटको चलखेल भएको छ ।
कतारमा वैदेशिक रोजगारीमा कामदार पठाउदै आएका १७ वटा म्यानपावर कम्पनीले नेपालमा रहेको कतारी राजदूतावास, कतारका केही रोजगारदाता कम्पनी र कतारको श्रम रोजगार मन्त्रालयका केही कर्मचारीसँगको मिलोमत्तोमा आफनो म्यानपावर छनोटमा पारेका हुन् ।
नेपालस्थित कतारी दुतावास र कतार भिसा सेन्टर (क्युभीसी) ले पठाएको नामलाई कतार भिसा सेन्टरले स्वीकृत गरेको म्यानपावर व्यवसायीले आरोप लगाइरहेका छन् ।
कतार भिसा सेन्टरका अध्यक्ष तथा एसओएस म्यानपावरका सञ्चालक हेम गुरुङको नेतृत्वमा म्यानपावरको नाम छनोट गरिएको व्यवसायीको आरोप छ । उनै गुरुङले भिसा सेन्टरमार्फत कतारमा कामदार पठाउन सीमित म्यानपावर छनोट गरेको व्यवसायीहरुको अनुमान छ । क्युभीसीले कतार जाने नेपाली कामदारको फिङ्गरप्रिन्ट लिने र भिसाको प्रोसेसिङको काम गर्दै आएको छ ।
सिण्डिकेट छनोटमा परेका कामदार
सिण्डिकेटमार्फत कामदार कतार पठाउन छानिएका म्यानपावरहरु एसओएस म्यानपावर (कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङ), डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट, होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलाश इन्टरनेशनल म्यानपावर, न्यू पाथिभरा प्लेसमेन्ट सर्भिसेज प्रालि, धर्म ओभरसिज प्रालि, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट, इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट र साउण्डलिनेस रिक्रुमेन्ट प्रालि रहेका छन् ।
यी म्यानपावर कम्पनीले मात्र सिण्डिकेटमार्फत कतार कामदार पठाउनका लागि नेपालमा रहेको भिसा सेन्टर र कतारी दूतावासमार्फत आफनो कम्पनीको नाम छनोटमा पारेका छन् । हाल वैदेशिक रोजगारीमा कामदार पठाउन ८ सय ५४ म्यापावर कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता छन् । तीमध्ये करिब ५ सय म्यानपावरले कतारमा कामदार पठाउँदै आएका छन् ।
श्रम मन्त्रालयलाई जानकारी छैन : सचिव
वैदेशिक रोजगार क्षेत्रलाई नियमन गदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने १७ ओटा म्यानपावरले मात्र कतार कामदार पठाउने विषयमा मन्त्रालयलाई जाकारी नभएको जनाएको छ ।
कतार जाने कामदारमाथि १७ वटा मात्र म्यानपावरले कामदार पठाउने विषयमा श्रम मन्त्रालय बेखबर रहेको पाइएको छ । १७ ओटा म्यानपावरले मात्र कतार कामदार पठाउने विषयमा श्रम मन्त्रालयलाई आधिकारिक पत्र र जानकारी कुनै पनि निकायबाट नआएको श्रम मन्त्रालयका सचिव तोयम रायाले बताएका छन् ।
नेपालस्थित कतारी राजदूतावासले हालसम्म श्रम मन्त्रालयलाई सीमित म्यानपावरमार्फत कामदार पठाउने विषयमा कुनै पत्र नपाएको श्रम सचिव रायाले बताए । ‘सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन ऐन र कानुन बनाएको छ । कामदार आपूर्ति गर्ने विषयमा दुई देशबीच श्रम सम्झौता गरेर आपूर्ति गर्ने व्यवस्था छ,’ उनले भने, ‘कानुनभन्दा बाहिर गएर कसैले मनपरी ढंगमा कामदार पठाउन पाउने अधिकार छैन । श्रम मन्त्रालयलाई जानकारी नदिइ कसैले त्यस्तो काम गर्यो भने कानुनी कारबाही हुन्छ ।’
सबै देशका कामदार लिन आफ्ना नियम र कानुनी व्यवस्था हुन्छन् तर, त्यो विषयमा कामदार आपूर्ति गर्ने देशलाई जानकारी गराउने उनको भनाइ छ ।
सिण्डिकेटधारी म्यानपावरबाट कामदार पठाउन रोक
कतार जाने कामदारमाथि सिण्डिेकटका लागि नाम छनोटमा परेका म्यानपावर कम्पनीसँग व्यवसायी संघले स्पष्टिकरण लिन थालेको छ । सिण्डिकेटमा संग्लनता नभएको भन्दै एसओएस म्यानपावर र न्युन पाथिभरा म्यानपावरले प्रतिबद्धतासहित लिखित पत्र पठाएको संघले जनाएको छ ।
कतार कामदार पठाउन सीमित म्यानपावर छनोट गरेको विषयमा नेपालमा रहेको कतारी राजदूतसहित राजदूतावासलाई समेत जानकारी गराउने संघका महासचिव सुजित श्रेष्ठले बताएका छन् ।
‘वैदेशिक रोजगारीमा जाने कामदारमाथि सिण्डिकेट म्यानपावर कम्पनी र संघलाई मान्य हुँदैन् । यादि जालझेल गरेर सिण्डिकेट लागू भयो भने म्यानपावर कम्पनीले कतार कामदार पठाउन समेत रोक लगाउने छैन,’ उनले भने, ‘सिण्डिकेटका कारण मलेसिया २ वर्ष वैदेशिक रोजगारीमा नेपाली कामदार जान्न पाएनन् । यो समस्या कतारमा नहोस भन्ने व्यवसायीको संघको भनाइ हो । यदि व्यवसायीले सिण्डिकेट लगाए उनीहरुमाथि संघले नै कारबाही गर्छ । जसका लागि तयारी समेत भइरहेको छ ।’
व्यवसायी संघले सिण्डिकेटको विरोधमा बरम्बार आवाज उठाउदै आएको र कतारको सिण्डिकेट कुनै हालतमा लागू नहुने उनको भनाइ छ ।
कतार सरकारले विदेशी कामदारका हकमा श्रम कानुन सहज बनाउँदै गएपछि त्यहाँ जाने नेपाली कामदारको आकर्षण बढ्दो छ । कतारमा हाल करिब ४ लाख कामदार रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ । नेपालबाट रोजगारीको खोजीमा वार्षिक १ लाख नेपाली कामदार म्यानपावरमार्फत जाने गरेका छन् । नेपाली कामदार रोजगार गन्तव्य देशभित्र कतार पर्छ ।