कात्तिक १ गते यता कोरोना भाइरसबाट २ सय ५७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रतिदिन २० का दरले संक्रमितको मृत्यु हुँदा संख्या बढीरहेको हो । कात्तिक १ गतेसम्म ७ सय २७ जनाले ज्यान गुमाएका थिए भने पछिल्लो १८ दिनमा यो संख्या बढेर ९ सय ८४ पुगेको छ । अर्थात् यो बीचमा २ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् ।
आज पनि काेराेना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर, सप्तरी र पर्साका एक एक पुरुषको रहेका छन् । उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० वर्षीय एक पुरुषकाे आज बिहान विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा मृत्यु भएकाे हो । केही दिनअघिदेखि ज्वरो र खोकीका कारण बिरामी भएकी उनलाइ कार्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै पर्साको धोबिनी गाउँपालिकाका- ५५ वर्षका पुरुषको पनि गएराति नारायणी अस्पतालमा मृत्यु भएको छ । श्वास-प्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको महादेवाका ३० वर्षीय युवकको गएराति मृत्यु भएको हो । उनको अस्पताल भर्ना भएकै दिन मृत्यु भएको हो ।