४ भदौ, बाँके । हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिन अन्तर्गत आज दर खाइदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको माग गर्दै भोली पल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दुघ्द्ध निर्माण मिष्ठान्न परिकार तयार गरी दर खाने चलन रहेको छ । महिलाहरू यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि पल्ट निराहर व्रत बस्ने गर्दछन् । दरमा खिर, ढकने र सेलरोटी खाने गरिन्छ । स्थान अनुसार दरखाने परिकारहरू फरक फरक छन् त्यस्तै आधुनिकता सँगै यसमा खाने परिकारहरूमा पनि फरक आउन थालेको छ । खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले नै रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ । काठमाडौं उपत्यकामा दर खाने दिनदेखि नै निषेधाज्ञा जारी गरिएकाले यस वर्ष तीज र अन्य पर्वमा गत वर्षको झैं रमझम र चहलपहल त्यति छैन ।
हरितालिका तीज अन्तर्गत आज दर खाने दिन, आफ्नै घरमै बसेर दर खान आग्रह