तनहुँ । तनहुँको भानु नगरपालिका–१ का सर्वसाधारणमा कोरोना (कोभिड–१९) पुष्टि भएपछि भानु नगरपालिका एक साताका लागि बन्द गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नगरपालिका र सम्पूर्ण वडा कार्यालयको सेवा आजदेखि आगामी भदौ २ गतेसम्मका लागि बन्द गरेको हो ।
नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेका अनुसार नगरपालिकाका केही क्षेत्रमा प्रतिनिधिमूलक रुपमा गरिएको परीक्षणमा एकजनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको र कार्यालयहरुमा सेवाग्राहीको भीडभाड बढेकाले सेवा बन्द गर्ने निर्णय गरिएको हो । यस अवधिमा स्वास्थ्यसम्बन्धी सम्पूर्ण सेवा तथा कार्य र कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण कार्य तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यहरुबाहेकका सबै सेवाहरु बन्द रहने जनाइएको छ ।
सोमबार कोरोना पुष्टि भएका ती व्यक्तिको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । अहिले ती व्यक्तिको सम्पर्कमा आएका सबैको कन्ट्याक ट्रेसिङमा परेका र परिवारका अन्य सदस्यहरुको स्वाब परीक्षणका लागि पठाइएको पनि बताइएको छ ।
यस्तै बन्दीपुर गाउँपालिकाले वडा नं ५ का एक ३४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएपछि उक्त ठाउँको आँधीखोलादेखि गोहोरे चौतारा थुम्का र मस्र्याङ्दी नदीसम्मको क्षेत्रमा अत्यावश्यक कार्यबाहेक अन्य कुनै पनि काम नगर्न,नगराउन अनुरोध गरेको छ ।