कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् ।
सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्रायः सबैले गलैँचा बुन्ने पेसालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ घर परिवारको बसोबास छ । पशुपालन, जडिबुटी सङ्कलनलगायत पेशालाई क्रमशः छाड्दै गएका यहाँका बासिन्दाले गलैँचा बुन्ने पेशालाई नै आफ्नो मुख्य आमदानीको स्रोत बनाएका छन् ।
तिब्बततर्फ मात्रै निर्यात हुँदै आएको गलैँचा नाका बन्दका कारण घरैमा थन्किएपछि भने उनीहरु समस्यामा परेका छन् । केही वर्ष अघिसम्म यहाँका प्रायः युवा अन्यत्र नगई घरैमा बस्ने हुँदा पशुपालन र जडिबुटी सङ्कलनमा सहज थियो । पछिल्लो पटक अध्ययन लगायतका कामले युवा शहर तिरै केन्द्रित हुँदा जनशक्तिको अभाव लगायतले पशुपालन र जडिबुटी सङ्कलनको काम छाडेर घरमा रहनेले गलैँचा बुन्ने गरेका छन् ।
‘गत वर्षको कात्तिकयता बुनेका गलैँचाले घर भरिएको छ, नाका बन्दले गर्दा चीनतर्फ लैजान सकिएको छैन, यहाँ बुनिएका गलैँचाको मुख्य बजार भनेकै चीनको तिब्बत हो,’ गलैँचा व्यवसायी याङ्दी वालुङले भने । एकातिर नेपाली बजारमा ल्याउन टाढा भएको र अर्कातिर काठमाडौं लगायतका ठाउँमा उत्पादित गलैँचा नै नेपाली बजारमा प्रशस्त पाइने भएकाले समस्या भएको वालुङको भनाइ छ । गलैँचा बेच्न नपाए पनि अहिलेसम्म आर्थिक रुपले समस्या नभएको तर अझै केहि महिना यस्तै अवस्था रहिरहे आफूहरू समस्यामा पर्ने स्थानीय वालुङले बताए ।