चोरमारा, २९ असोज ।
बौदीकाली गाउँपालिका–५ मा स्वास्थ्य चौकी स्थापना भएको छ । वडा अध्यक्ष खिम बहादुर थापा खरुको बिशेष पहल तथा गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना भएको हो ।
साविकको जौबारी गा.वि.स. दुई गाउँपालिकामा विभाजन भएपछि साविकको जौबारी १, २ र ३ मिलेर बनेको सो वडाका स्थानीय स्वास्थ्य चौकीको सेवाबाट बञ्चित भएका थिए । जसको कारण सामान्य ज्वरो, रुघाखोकी, झाडापखला लाग्दा स्थानीय नीजि स्वास्थ्य केन्द्रमा जान बाध्य भएका थिए । स्वास्थ्य चौकीको लागि छुट्टै भवन नभएको अवस्थामा हाल वडा कार्यालयबाट नै स्वास्थ्य सेवा उपलब्ध गराएको वडा अध्यक्ष खरुले बताउनुभयो । 
स्वास्थ्य चौकी स्थापना भएपछि अब स्थानीयहरु स्वास्थ्य सेवाको लागि नीजि स्वास्थ्य केन्द्र जानुपर्ने बाध्यता हटेको स्थानीय आशिष राना मगरले बताउनुभयो । हाल स्वास्थ्य चौकीमा एक जना अहेव र एक जना अनमी स्वास्थ्यकर्मी कार्यरत रहनुभएको छ । सो स्वास्थ्य चौकीबाट नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु उपलब्ध रहेको छ ।