पर्वत, २६ असोज । जिल्ला प्रहरी कार्यालय पर्वतले कोरोनालाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाएको छ । जिल्लामा कोरोनाबाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पारिएको पर्वत प्रहरीले जनाएको छ ।
सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने, मोबाइल गस्ती बढाइने तथा चेकिङ र रात्री गस्ती लाई थप गरेर शान्ति सुरक्षालाई चुस्त पार्न लागिएको जिल्ला प्रहरी कार्यलय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार पारिएको बताउनुभयो । लोभलालचमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न आफु मातहातका कर्मचारीलाई सचेत गराएको उहाँको भनाई छ ।

हरेक वर्ष प्रहरीले दशैँ–तिहार लक्षित छुट्टाछुट्टै सुरक्षा योजना बनाउदै आएपनि यस वर्षको सुरक्षा योजनामा भने कोभिड–१९ को प्रभाव पर्ने देखिएका कारण थप मजबुद बनाइएको हो ।
गत वर्षहरुमा कोभिड–१९ को संक्रमण नभएका कारण सम्भावित सुरक्षा चुनौतिका आधारमा सुरक्षा योजना बनाइए पनि यस वर्ष त्यस्तो नहुँने अधिकारीको भनाई छ । उहाँले सुरक्षा योजनामा अपराध न्यूनीकरण गर्न चाल्नु पर्ने कदमजस्ता योजनाका साथै अतिरिक्त भीडभाड हुन नदिने, सामाजिक दूरी कायम गर्न लगाउने लगायतका योजना पनि थपिएका छन् ।
चाडबाडका बेला चोरी, तस्करी, लुटपाट, कालोबजारी, पाकेटमारी, जुवातास, ठगीसँगै हत्यासम्मका अपराध अरू बेला भन्दा बढी हुने गर्दछ । जसलाई न्यूनीकरण गर्नु प्रहरीको दायित्व हो । जसले गर्दा हरेक वर्ष प्रहरीले चाडबाडको बेला अरू बेला भन्दा बढी गस्ती, पेट्रोलिङ जस्ता गतिविधि गर्दै आएका छन । सादा पोशाकका प्रहरीलाई व्यापक रूपमा खटाइनेछ । जुन सुरक्षा योजनाअन्तर्गत हुने उहाँले बताउनुभयो ।
उहाँका अनुसार यात्रुहरू ठगिन सक्ने भन्दै सहायता कक्ष स्थापना गर्न लागिएको छ । सदरमुकाम कुश्माको शिवालय चोक र पर्वत भित्रिने मुख्य नाका डिमुबामा गरी दुई ठाउँमा सहयता कक्ष स्थापना गरीने छ । यससँगै केही दिनदेखि नै ट्राफिक प्रहरी व्यापक रूपमा परिचालन भएको र चेकजाँचलाई व्यापक बनाइएको उहाँले बताउनुभयो ।
बैंक लगायत वित्तीय क्षेत्र भएको स्थानहरुमा २४ सै घण्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारबाही गर्ने पनि प्रहरीले जनाएको छ । राजमार्ग र शाखा सडकहरुमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाउने प्रहरीको योजना छ । चाडबाडलाई लक्षित गरेर पर्वतमा ३ सय बढी प्रहरी परिचालन हुनेछन् ।
जिल्लाभित्र आउने र जाने प्रमुख नाकाहरु एवं सदरमुकाम प्रवेश गर्ने नाकाहरुमा दैनिक रूपमा ट्राफिक सहितको नियमित एंव आकस्मिक चेकिङको व्यवस्था रहेको छ । जिल्लाका होटल, लज, रेस्टुरेन्ट, मनोरञ्जनात्मक स्थलहरु आदिको नियमित एवं आकस्मिक अनुगमन र छड्के चेकजाँचको व्यवस्था गरेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लागु गरेको सम्पुर्ण स्वास्थ्य मापदण्डलाई पालना गरी काम हुने पनि अधिकारीले बिश्वस्त दिलाउनुभयो ।
साभार news24