प्रिय धन , चोरमारा । पाल्पा जिल्लाको १० वटा स्थानीय तहमध्ये विकट मानिएको निस्दी गाउँपालिका १ हप्ताका लागि शिल हुने भएको छ । गत असोज २१ गते पालिकाका केही जनप्रतिनिधि र कर्मचारीको स्वाव सङ्कलन गरी तानसेनमा परीक्षण गरिएकोमा ५० स्वाव मध्ये पालिका अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत सहित १० जनामा कोरोना पुष्टि भएको तर हाल उहाँहरू सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखाका प्रमुख रेम दिशा मगर ले जानकारी दिएका छन । परीक्षण गर्दा ८ पुरुष र २ महिलामा कोरोना पोजिटिभ देखिएको दिशा मगरले बताए । संक्रमितलाई निस्दी गाउँपालिकाकै भवनको माथिल्लो भागमा व्यवस्थित गरी राखिने पनि स्वास्थ्य शाखा प्रमुख दिशाले बताए । पछिल्लो समयमा पालिका प्रमुख सहित १० जनामा एकैपटक कोरोना देखिएपछि निस्दी गाउँपालिका ७ दिनका लागि शिल गरिने भएको छ । शनिबार राति १२ बजे देखि अर्को आउँदो कार्तिक १ गते राति १२ बजेसम्मका लागि निस्दी गाउँपालिका पुरै शिल गर्ने गाउँपालिका ले जनाएको छ । सो एक हप्ताको अवधिमा पालिका बाट प्रदान गरिने सबैखाले सेवा ठप्प रहने प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले जानकारी दिए । साथै कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरु सजग भएर बस्न पनि अर्यालले आग्रह गरेका छन ।
पाल्पाको निस्दी गाउपालिकामा अध्यक्ष सहित १० जनामा संक्रमण,पालिका एक हप्ता शिल