बुधबार दिउँसो जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका–१ औलखोलामा भे१ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित ६ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृति बहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही र ३० बर्षीय खिम बहादुर शाही रहेका छन्। दुर्घटना स्थलदेखि २०० मिटर तल अर्को शव भेटिएको र उनको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। जीपमा कतिजना सवार थिए भन्ने बारेमा नखुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
जाजरकोटमा जीप दुर्घटना : वडाध्यक्षसहित छ जनाको मृत्यु