वीरगंज साउन ३२। पर्साको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, चिकित्सक र पत्रकार सहित पर्सामा आज ९२ जनामा कोरोना संक्रमण देखिएको छ । साउन २६ गते मेयर रौनियारसहित ३४ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाउदा आइतबार सांझ ३३ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो । कोरोना संक्रमीत हुनेमा मेयर रौनियार, वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अनिल यादव, अस्पतालका अन्य २ डाक्टर, २ नर्ससहित ४ जना स्वास्थ्यकर्मी रहेका छन् । संक्रमित हुनेमा पोखरियाका एक जना पत्रकारपनि रहेका छन् । यस्तै मेयर रौनियारका परिवारका सबै सदस्यसहित स्वकिय सचिव राजु रौनियार र गाडीका चालक पनि कोरोना संक्रमित भएका छन् । मेयर रौनियारलाई ज्वारो र खोकी लागेपछि उनी आफुसहित आफ्नो परिवारको सबै जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गराएका थिए । ७ दिनपछि प्राप्त रिपोर्ट सबै जनाको कोरोना पोजिटिभ आएपनि मेयर रौनियारको ज्वारो र खोकी निको भइसकेको छ । स्वाब दिएको दिनदेखी उनी आफ्नो सम्पूर्ण परिवारसहित होम आइसोलेसनमा बस्दै आएका थिए । पोखरीयामा जम्मा ३३ जनामा संक्रमण देखिएको हो । यस्तै बीरगञ्ज महानगरपालिकाका ३८ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । पर्सामा कोरोनाका कारण सबै भन्दा धेरै मृत्यु समेत भएको छ ।
पर्सामा मेयर ,चिकित्सक र पत्रकार सहित थप ९२ जनामा कोरोना संक्रमण