काठमाडौं, १० असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गर्ने क्रममा दिल्लीले चेन्नईलाई ४४ रनले हरायो । दिल्लीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नईले पूरा २० ओभर खेल्दै ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । चेन्नईका फाफ डुप्लेसीले ४३ रन बनाए भने केदार जाधवले २६ रन बनाए । दिल्लीका कगिसो रबाडाले ३ विकेट लिए भने एनरिच नोर्त्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए । यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शले ६४ रनको अर्धशतकीय पारी खेले भने रिषभ पन्तले अविजित ३७ रन बनाउँदा ओपनर शिखर धवनले ३४ रन बनाए । चेन्नईका पियूष चावलाले दुई तथा साम करानले एक विकेट हात पारे । जीतसँगै २ खेलबाट ४ अंक बटुलेको दिल्ली अंकतािकाको शीर्ष स्थानमा उक्लिएको छ भने पराजित चेन्नई ३ खेलबाट २ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ । आइपिएल क्रिकेट अन्तर्गत शनिबार बेलुका हुने खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादको सामना गर्ने छ ।
आइपिएल क्रिकेटमा चेन्नईलाई हराउँदै दिल्लीको लगातार दोस्रो जीत