नवलपुर, ६ असोज । नवलपुरमा कोरोना संक्रमितको संख्या आठ सय ६ पुगेको छ । जिल्लामा मंगलबार थप नौं जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या आठ सय ६ पुगेको हो । मंगलबार जिल्लाको मध्यविन्दु नगरपालिकामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नम्बर २ मा ४० वर्षीय एक जना पुरुष, वडा नम्बर ६ मा एक जना ६५ पुरुष र वडा नम्बर ८ मा ६५ र ३१ वर्षीया २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप भएका संक्रमितहरुमध्ये दुई जनालाई चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेशनमा र दुई जना होम आईसोलेशनमा राखिएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाका प्रमुख माधव प्रसाद पोखरेलले बताए । नगरपालिकाले अहिले आफ्नो छुट्टै आइशोलेसन कक्ष स्थापना गरेर नगर भित्रका कोरोना संक्रमितहरुलाई आइसोलेशनमा राख्ने व्यवस्था गरेको हो । हाल नगरपालिकाको ल्होसेधारा आधारभूत विद्यालय र चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन वेड तयार गरेर व्यवस्थापन गरेको छ । मंगलबार थप भएका संक्रमितसंगै नगरपालिकामा २० जना महिला र ७६ जना पुरुष गरी कोरोना सक्रमितको संख्या ९६ जना पुगेको छ । जसमा ६ महिला र ५६ जना पुरुष गरि ६२ जना संक्रमण मुक्त हुनुभएको छ । भने मध्यविन्दु नगरपालिकामा कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । त्यस्तै जिल्लाको विनयीत्रिवेणी गाउँपलिकामा आज थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ३ मा ४५ वर्षीय एक जना पुरुष, वडा नम्बर ४ मा २९, २६, २४ वर्षीय तिन जना पुरुष र ४५ वर्षीया एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले बताए । विनयी त्रिवेणी गाउँपालिकामा हाल सम्म कोरोना संक्रमितको संख्या एक सय २९ जना पुगेको छ । हाल सम्म जिल्लाको गैंडाकोट नगरपालिकामा एक सय ६९ जना, देवचुली नगरपालिका एक सय ५१, कावासोती नगरपालिकामा एक सय २९ जना, मध्यविन्दु नगरपालिकामा ९६ जना, विनयी त्रिवेणी गाउँपालिकामा एक सय २९ जना, हुप्सेकोट गाउँपालिकामा ५३ जना, बुलिङटार गाउँपालिकामा ४० जना र बौदीकाली गाउँपालिकामा ३९ जना कोरोना संक्रमितको संख्या पुगेको छ । जिल्लामा कुल संक्रमित आठ सय ६ जना मध्ये हाल सम्म चार सय ६२ जना कोरोना संक्रमण मुक्त भएको चापगाईंले बताउनुभयो । सक्रिय संक्रमित तिन सय ३८ जना मध्य तिन सय ११ जना जिल्लाको बिभिन्न स्थानमा रहेको आइसोलेशन कक्ष तथा होम आइसोलेशनमा रहेका छन भने २७ जना जिल्ला बाहिर आइसोलेशनमा रहेका छन् । जिल्लामा हाल सम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले जानकारी दिएका छन ।
नवलपुरमा कोरोना संक्रमितको संख्या आठ सय नाघ्यो