रन्जीत शर्मा/ नवलपरासी/भदौ ३१ । पश्चिम नवलपरासीमा स्वास्थ्यकर्मी सहित बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि संगै एक जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी पाल्हीनन्दन गाउँपालिकामा १५ जनामा संक्रमण पुष्टि भएको छ भने सुनवल नगरपालिकामा ५ जना र रामग्राम नगरपालिकाका एक जनामा संक्रमण पुष्टि तथा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ बस्ने ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका मलेरिया ईन्स्पेक्टर रतन शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाल्हीनन्दनमा वडा नम्बर ३ मा सबैभन्दा बढी १२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १३, १७, २८, ३५, ४०, ४२ र ४६ वर्षीय महिला छन् भने ११, १३ र १५ वर्षीय बालक सहित ३९ र ६८ वर्षिय पुरुष रहेका छन् । यस्तै वडा नम्बर ४ मा ६८ वर्षीय महिला र ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । पाल्हीनन्दनकै वडा नम्बर ५ मा ४० वर्षीय पुरुष संक्रमित भएका छन् । सुनवलमा एक स्वास्थ्यकर्मी सहित ५ जना संक्रमित भएका छन् । सुनवल वडा नम्बर २ का ३३ वर्षीय स्वास्थयकर्मिमा संक्रमण पुष्टि भएको हो । यस्तै सुनवलको वडा नम्बर १ मा ५३ र ८० वर्षीय महिला र ५३ वर्षकै पुरुषमा संक्रमण पुष्टि भएको छ । वडा नम्बर १२ मा २१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
आज मृत्यु भएकाे पाल्हिनन्दन गाउपालिका वार्ड न० ४ बस्ने ५४ वर्षीय पुरूष मृतक मिर्गौला रोगि थिए । गत भदौ २४ गते गरिएको स्वास प्रशिक्षणका क्रममा उनमा २५ गते कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित भएकै अवस्थामा उनको २७ गते मिर्गौलाको डाइलेसिस गरिएको थियो । उनमा लक्षण सहितको संक्रमण देखिएपछि भैरहवा लगिएको हो । बुधबार ४ बजे पनि उनको डाइलेसिस गरिने तयारी भएपनि विहान साढे १० बजे मृत्यु भएको प्रमुख ढकालले बताउनुभयो ।
यता रामग्राम नगरपालिका वडा नम्बर ५ का १६ वर्षीय किशोरमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पश्चिम नवलपरासीका सातवटा स्थानीय तह मध्य आज संक्रमित थपिएसँगै पाल्हीनन्दनमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । पाल्हीनन्दनमा कुल संक्रमितको सङख्या हालसम्म १ सय २ पुगेको छ भने सुवनलमा ९७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै हाल सम्म रामग्राम नगरपालिका भित्र ६४ र बर्दघाटमा ४६ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी सुस्तामा ३९, प्रतापपुरमा २८ र सरावलमा गाँउपालिकामा हाल सम्म १४ जनालाई संक्रमण भएको छ ।
आज थपिएका संक्रमितसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या ३ सय ९१ पुगेको छ । जिल्लाबाट स्वाब परिक्षणका लागि पठाईएका मध्य अझै ३ सय ५६ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।