भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ मा दलित जागरण समाज गठन भएको छ । जातीय विभेद, छुवाछूत अन्त्य तथा हकअधिकार सुनिश्चित गर्न एवं दलित तथा पिछडिएका समुदायको उत्थानका लागि वडा स्तरिय दलित जागरण समाज गठन भएको हो ।
नेपालको संविधानमा ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत, भेदभाव तथा अपहेलना गर्न नहुने’ व्यवस्था भए पनि त्यस्ता किसिमका घटनाहरु बारम्बार दोहोरिरहेको भन्दै ती समस्याहरुको अन्त्य तथा दलित समुदायको हकहित संरक्षण गर्न दलित जागरण समाज गठन गरिएको समाजका अध्यक्ष विक्रम हरिजनले बताए ।
विक्रम हरिजनको अध्यक्षता, ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुन्दरतमति कुमारी हरिजनको प्रमुख आतिथ्यता, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलको विशिष्ट आतिथ्यता, वडा नम्बर ३ का वडा अध्यक्ष चन्नर प्रसाद यादव लगायत विभिन्न समाजसेवीहरुको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमका बिच १५ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ ।
उक्त कार्यसमितिमा अध्यक्ष पदमा विक्रम हरिजन, उपाध्यक्षमा शकुन्तला धोनी, जगमोहन चमार, रामआसरे हरिजन, सचिवमा धनेश बरुण, सहसचिवमा दिलिप कुमार पासी, कोषाध्यक्षमा गुरुदयाल पासी, सल्लाहकारमा वीर बहादुर सुनार, नन्दलाल पासवान, सदस्यमा चन्द्भान हरिजन, कुरेश हरिजन, प्रमिला हरिजन, सरोज हरिजन, नरेश हरिजन र किशोर पासीलाई चयन गरिएको दलित जागरण समाजका सचिव धनेश बरुणले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुन्दरतमति कुमारी हरिजन, वडा नम्बर ३का वडा अध्यक्ष चन्नर प्रसाद यादव, वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवल, समाजसेवी फोटु मुसलमान, चन्द्रिका हरिजन, आकाश खान, पवन कुमार धोवी लगायतले शुभकामना सहित मन्तव्य राखेका थिए ।