अमृत भट्टराई, बिहादी/पर्वत । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर २ बर्राचौरमा रहेको खहरे झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
बर्राचौरको एक सुन्दर र हरियाली ठाउँमा रहेको खहरे झरना खहरे खोलाबाट बहने खहरेखोलाको अन्तिम भागमा अवस्थित रहेको छ । तर अहिलेसम्म यस क्षेत्रमा कसैको ध्यानाकर्षण नभएको बर्राचौरका एक युवाले बताए । बिहादी बौरको काखमा अवस्थित झरनामा जाने बाटो समेत नहुँदा पनि यो झरना ओझेलमा परेको स्थानीयले बताउछन् ।
यस क्षेत्रमा राम्रोसँग पुग्ने गरि पैदलमार्ग निर्माण गरेमा बर्राचौर मात्र नभई बिहादी कै पर्यटकीय स्थल बनाउन सकिने देखिन्छ । कालीगण्डकी करिडोरबाट करिब दुई सय मिटर तल रहेको खहरे झरनामा सडक पुर्याउन सकियो भने आन्तरिक र बाहृय पर्यटनका लागि एक गन्तव्य बन्न सक्ने देखिन्छ ।
देशमा स्थानीय सरकार भएपनि अहिलेसम्म खहरे झरनालाई केही फरक परेको छैन । स्थानीय सरकारले यस्ता क्षेत्रमा लगानी गरेर बाहिरी प्रचारप्रसारमा जोड दिन सके स्थानीय बासिन्दालाई पनि फाइदा हुने देखिन्छ ।
स्थानीय बासिन्दाले खहरे झरना अवलोकन गर्न आउनेहरुबाट व्यापार गरेरै आफ्नै ठाउँमा रोजगारी पाउने समेत सम्भावना रहेको यस क्षेत्रमा स्थानीय सरकारको समयमा नै ध्यानाकर्षण हुन आवश्यक रहेको देखिन्छ ।