काठमाडौं । कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका यातायात आगामी असोज १ गते देखि सञ्चालन गर्ने यातायात व्यवसायीहरुले घोषणा गरेका छन्। कोरोना संक्रमण नियन्त्रण गर्ने भन्दै सरकारले विगत छ महिना ( चैत ) देखि यातायात सञ्चालनमा रोक लगाएको थियो।
बुधबार बसेको यातायात व्यवसायी, यातायात व्यवस्था विभाग तथा तीन मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले अब सरकारले यातायात नखुलाए आगामी असोज १ गते विश्वकर्मा पूजाको दिन देखि यातायात सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
कोरोना महामारी कहिले सम्म हुने हो र हामीले कहिले सम्म यसरी गाडी थन्क्याएर बस्ने, बैंकको ब्याज कसरी तिर्ने त्यसैले हामीले सो निर्णय गरेका हौं, एक जना यातायात व्यवसायी संघका सदस्य भन्छन्। हामीले गरेको निर्णय मन्त्रिपरिषदमा पनि हुनुपर्ने भन्नुहुन्छ यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल। सुरक्षाका सबै उपाय अपनाएर यातायात सञ्चालन गर्ने यातायात व्यवसायीहरुले बताएका छन्।